काठमाडौं । अभिनेता तथा टिकटक स्टार पारस बम ठकुरी ‘कुलब्वाय’ ‘सोफा स्टोर’को ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। सोफा स्टोर र पारसबिच एक वर्षका लागि व्यावसायिक सहकार्य भएको हो।
जडीबुटीस्थित सोफा स्टोरको मुख्य कार्यालयमा आयोजित कार्यक्रममा मिडियाकर्मीको उपस्थितिबीच पारसलाई ब्रान्ड एम्बेसडर घोषणा गरिएको हो।
सोफा स्टोरका सञ्चालक दीपेन्द्र धरेलका अनुसार यो सहकार्य व्यापार प्रवर्द्धनमा मात्र सीमित नभई उपभोक्ताप्रतिको जिम्मेवारी र गुणस्तरप्रतिको प्रतिबद्धतासँग पनि जोडिएको छ।
ब्रान्ड एम्बेसडरका रूपमा सार्वजनिक भएपछि पारसले आफूले उच्च गुणस्तरका र मानव स्वास्थ्य तथा समाजलाई हानि नगर्ने उत्पादनको मात्र प्रवर्द्धन गर्ने बताए।
उनले भने, “म सधैँ उच्च गुणस्तर भएका र मानव स्वास्थ्य वा समाजलाई हानि नगर्ने ब्रान्डको मात्र प्रवर्द्धन गर्छु। हानिकारक कुराहरूको म कहिल्यै प्रचार गर्दिनँ। सोफा स्टोरको गुणस्तरमा म ढुक्क छु, त्यसैले यो सहकार्यमा बाँधिएको हुँ।”
दसैँ, तिहार र छठ नजिकिँदै गर्दा घर सजावट तथा फर्निचर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै पारसले सोफा स्टोरका शाखामा पुगेर उपलब्ध कलेक्सन हेर्न आग्रह गरेका छन्।
उनले यो सहकार्य एक वर्षको व्यावसायिक सम्झौतामा मात्र सीमित नभई मिडिया, सोफा स्टोर र उपभोक्ताबीचको दीर्घकालीन सम्बन्धको सुरुवात बन्ने विश्वास व्यक्त गरे। साथै, सोफा स्टोरका सञ्चालक धरेलको व्यावसायिक यात्राको सफलताको शुभकामना दिँदै आगामी दिनमा व्यवसायले थप रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरे।
धरेलले पारससँगको सहकार्यले सोफा स्टोरका उत्पादनलाई देशका विभिन्न क्षेत्रमा पुर्याउन सहयोग पुग्ने बताए।
“हामी देशकै एउटा उदीयमान व्यवसायका रूपमा अघि बढिरहेका छौँ र पारसजी पनि युवापुस्तामा लोकप्रिय उदीयमान कलाकार हुनुहुन्छ,” उनले भने, “यो सहकार्यले हाम्रा सुलभ र गुणस्तरीय उत्पादनहरूलाई देशका कुना–कुनासम्म पुर्याउन ठूलो मद्दत गर्नेछ।”
सोफा स्टोरमा सामान्यदेखि लक्जरी श्रेणीसम्मका फर्निचर उपलब्ध रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार आफ्नै कारखानामा उत्पादित फर्निचर पनि बिक्री गरिन्छ।
सोफा स्टोरका जडीबुटी, महाराजगन्ज, भक्तपुर र चमातीमा शाखा छन्। उपत्यकाबाहिर धनगढी र सुर्खेतमा पनि बिक्री केन्द्र सञ्चालनमा रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार हाल करिब १ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।