चार भाषामा ‘माहोल गरम’, मंसिर ४ गतेदेखि देशभर

काठमाडौँ । रोशन दासको निर्देशनमा निर्माण भएको नेपाली फिल्म ‘प्रतिवैरम्’ मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। फिल्मको प्रतीक्षित आइटम गीत ‘माहोल गरम’ चार भाषामा सार्वजनिक गरिएको छ।

फिल्मको प्रचारलाई थप गति दिने उद्देश्यले गीत नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा सार्वजनिक गरिएको हो। नेपाली संस्करण ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ भने हिन्दी, मैथिली र भोजपुरी संस्करण आदर्श प्रोडक्सनबाट रिलिज गरिएको छ।

नेपाली संस्करणमा रोशन दासको शब्द तथा मनीष अधिकारीको संगीत रहेको छ। हृतिका श्रेष्ठको स्वर रहेको गीतमा प्रियंका कार्कीलाई ‘बसन्ती’को भूमिकामा प्रस्तुत गरिएको छ।

हिन्दी संस्करणको शीर्षक ‘जवानी कातिल’ राखिएको छ। यसमा शिवानी भगतको स्वर तथा लभ कर्णको शब्द रहेको छ। मैथिली संस्करण ‘जवानी सेहो कातिल’ र भोजपुरी संस्करण ‘गाउँवा बा घायल’ शीर्षकमा सार्वजनिक गरिएको छ। दुवै संस्करणका गीतकार सुमन मण्डल हुन् भने समीक्षा चौधरीले स्वर दिएकी छन्।

गीतमा प्रियंका कार्कीसँगै नवीन श्रेष्ठ, रोनी यादव, नारायण बिक र प्रदीप ढकाललाई देख्न सकिन्छ। मनोरञ्जनात्मक प्रस्तुति रहेको गीतमा फिल्मका केही एक्सन दृश्यसमेत समेटिएका छन्। गीतको अन्त्यतिर अभिनेता सम्राट दासलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। ‘प्रतिवैरम्’ सम्राट दासको डेब्यु फिल्म हो।

फिल्ममा सम्राट दास, वीरेन्द्र सिंह कुशवाहा, आलिशा बास्तोला, सुप्रज्ञा शर्मा, नारायण बिक, आशिष डिके र रमेश बुढाथोकीलगायतका कलाकारको अभिनय रहेको छ।

गीतको छायांकन नितेश घतान र हरि ढकालले गरेका हुन् भने कोरियोग्राफी सुरेन्द्र बसेलको रहेको छ। सम्पादन कबिर ओड र पंकज महतोले गरेका छन्। भिएफएक्स समीर मियाँको रहेको छ।

फिल्मको लाइन प्रोडक्सन पंकज महतोले सम्हालेका छन्। मुख्य सहायक निर्देशकमा सन्तोष मल्ल र खेमराज कोइराला छन् भने सहायक निर्देशकमा सिर्जना भुजेल, अग्नि सुबेदी, धिरज राउत र कुशल पोखरेल रहेका छन्।

‘प्रतिवैरम्’का कार्यकारी निर्माता बिक्की शाह, क्रिएटिभ निर्माता राकेश शाह, सह–निर्माता अनिश पोखरेल तथा एसोसिएट प्रोड्युसर रजन देवी र रीता देवी हुन्। फिल्मका निर्माता हर्ष कुमार यादव र सत्यराज चौलागाईं रहेका छन्।

फिल्मको कथा तथा निर्देशन रोशन दासको रहेको छ भने पटकथा, संवाद तथा लेखनमा युवराज भट्टराई जोडिएका छन्।

रेज इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘प्रतिवैरम्’ आदर्श प्रोडक्सन, सिम्पल एड मिडिया र श्रीयान इन्टरटेनमेन्टसँगको सहकार्यमा निर्माण भएको हो। मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई नेसनल सिनेमा ग्रुपले वितरण गर्नेछ।

मधेशको सामाजिक परिवेश, एक्सन, सम्बन्ध, अपराध र बदलाको कथालाई केन्द्रमा राखिएको फिल्म नेपालीसँगै हिन्दी, मैथिली र भोजपुरी भाषामा समेत प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech