काठमाडौं । नवीन पन्तको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘बाकस’मा मोडल बिक्रम बुढाथोकी अनुबन्धित भएका छन्। ५ सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका बिक्रमले गायक प्रमोद खरेलका २ सयभन्दा बढी गीतमा अभिनय गरेका छन्।
म्युजिक भिडियोमा आफ्नो बलियो उपस्थिति जनाउँदै आएका बिक्रमले नवीन पन्तको निर्देशनमा बन्ने फिल्म ‘बाकस’बाट फिल्म यात्रा सुरु गर्न लागेका हुन्।
निर्माण टिमका अनुसार फिल्मका बाँकी कलाकार तथा प्राविधिकको छनोट अन्तिम चरणमा पुगेको छ। यसअघि फिल्ममा बिपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा र सुपला सापकोटा अनुबन्धित भइसकेका छन्।
त्यस्तै, बाल कलाकारतर्फ रेखा भण्डारी, अविरल चौलागाईं, सनाज चौलागाईं र सगुन खड्का पनि फिल्ममा जोडिएका छन्।
‘बाकस’को निर्माण सुजिता चौलागाईंले गर्नेछिन् भने छत्रबहादुर खड्का सह–निर्माता र धीरेन्द्र पन्त (धिरु भाइ) कार्यकारी निर्माता रहेका छन्।
फिल्ममा दीपक शर्मा र सनम पुरुष राईको संगीत रहनेछ। गीत तथा शब्दमा दीपक शर्मा र निर्देशक पन्तको योगदान रहनेछ।
फिल्मको मुख्य सहायक निर्देशकमा मणि तामाङ, द्वन्द्व निर्देशकमा किरण दाहाल, छायांकनमा महेश पौडेल र प्रोडक्सन म्यानेजरमा निर्मल न्यौपाने रहेका छन्।
‘बाकस’को प्रदर्शन मिति भने तय भइसकेको छैन। निर्माण पक्षका अनुसार फिल्मको छायांकन सकिएपछि प्रदर्शन मिति घोषणा गरिनेछ।