मौसम सफा भएसँगै ‘बाः एक योद्धा’ हाउसफूल हुँदै

काठमाडौँ । मौसम खुल्दै गएसँगै फिल्म ‘बाः एक योद्धा’को अकुपेन्सी पनि बढ्न थालेको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले सकारात्मक प्रतिक्रिया पाए पनि लगातारको वर्षाका कारण सुरुवाती दिनमा अपेक्षित दर्शक पाउन सकेको थिएन।

तर, आइतबार दिउँसोदेखि मौसममा सुधार आएपछि फिल्मप्रति दर्शकको उत्साह बढेको निर्माण पक्षले जनाएको छ। आइतबार मध्याह्नपछिका अधिकांश शोमा ८० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको र कतिपय शो हाउसफूल भएको निर्देशक हरि लम्सालले बताएका छन्।

“आजबाट सिनेमाले गति समातेको छ। मौसममा सुधार देखिन सुरु गरेपछि हाम्रो चलचित्रका शो पनि हाउसफूल हुन थालेका छन्। हामीलाई दुई दिन वर्षाको असर गर्‍यो। तर आजबाट हाम्रो सिनेमा हेर्न दर्शकमा देखिएको उत्साहले हामी पनि उत्साही भएका छौँ,” निर्देशक लम्सालले भने।

लम्सालका अनुसार अधिकांश दर्शकले फिल्मले आफूहरूलाई भावुक बनाएको, रुवाएको तथा आफ्नो, आफन्त वा छिमेकीले देखे–भोगेकै कथासँग जोडिएकाले फिल्मसँग कनेक्ट भएको प्रतिक्रिया दिइरहेका छन्।

दर्शकले अभिभावकले आफ्ना सन्तानलाई फिल्म देखाउनुपर्ने सुझावसमेत दिएको उनले बताए।

आफ्नो अधिकार खोज्ने तर दायित्व बिर्सने सन्तानका लागि ‘बाः एक योद्धा’ हेर्नुपर्ने फिल्म भएको दर्शकको प्रतिक्रिया आएको निर्माता लम्सालले बताए।

“हामीलाई दर्शकले यो सिनेमा अभिभावकले आफ्ना सन्तानलाई देखाउने वातावरण सिर्जना गर्नुपर्‍यो भनेर भनिरहनुभएको छ। दर्शकको यो आग्रह र सन्देशलाई हामी मिडियामार्फत दर्शकसम्म पुगोस् भन्ने चाहन्छौँ,” उनले भने।

‘बाः एक योद्धा’को कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीमा केन्द्रित छ। सन्तानको इच्छा पूरा गर्न बुवाआमाले गर्ने संघर्षसँगै वृद्ध अवस्थामा उनीहरूले भोग्ने दुःखलाई पनि फिल्मले कथामा समेटेको छ।

फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन्।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। फिल्मको कथा तथा पटकथा पनि लम्सालकै हो।

वसन्त लम्साल निर्माता रहेको फिल्ममा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह–निर्माता रहेका छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech