‘हाम्रो सानो घर’मा ‘आचार्य’की नायिका पूर्णिका सिजापति मुख्य अभिनेत्री

काठमाडौँ । नेपाली फिल्म ‘हाम्रो सानो घर’मा अभिनेत्री पूर्णिका सिजापति मुख्य अभिनेत्रीका रूपमा अनुबन्धित भएकी छन्। निर्देशक तथा लेखक सुमन गजमेरको निर्देशनमा बन्न लागेको फिल्ममा पूर्णिकाको प्रवेशसँगै निर्माण पक्षले कलाकार छनोटलाई तीव्रता दिएको छ।

पूर्णिका नेपाली मोडलिङ क्षेत्रमा परिचित नाम हुन्। उनले १६ वर्षको उमेरदेखि मोडलिङ यात्रा सुरु गरेकी थिइन्। कक्षा ११ मा अध्ययन गर्दै गर्दा मोडलिङमा प्रवेश गरेकी उनले ‘फेस अफ टिन २०२१’ को उपाधि जितेकी थिइन्। त्यसपछि उनले ‘फेस अफ क्लासिक डायमन्ड २०२४’ को उपाधिसमेत हासिल गरेकी छन्।

मोडलिङ तथा कन्टेन्ट क्रिएसनमा सक्रिय पूर्णिकाले विभिन्न फेसन तथा ब्रान्डसँग काम गर्दै आएकी छन्। पछिल्लो समय उनले नेपाली फिल्ममा पनि प्रवेश गरेकी छन्। उनी ‘आचार्य’मा कलाकारका रूपमा देखिँदैछिन्, जहाँ उनले नेपालीसँगै बलिउड तथा दक्षिण भारतीय कलाकारसँग स्क्रिन सेयर गर्ने अवसर पाएकी छन्।

अब भने पूर्णिका ‘हाम्रो सानो घर’मा मुख्य भूमिकामा देखिनेछिन्। फिल्मको कथा, पटकथा तथा निर्देशन सुमन गजमेरको रहनेछ।

समकालीन पुस्ता अर्थात् जेनेरेसन–जेड (Gen Z) को प्रेम, सम्बन्ध, सपना, सामाजिक सोच र जीवनशैलीलाई केन्द्रमा राखेर निर्माण हुन लागेको ‘हाम्रो सानो घर’लाई प्रेमकथामार्फत सामाजिक विषयसमेत प्रस्तुत गर्ने फिल्मका रूपमा निर्माण पक्षले अघि बढाएको छ।

फिल्ममा प्रेमसँगै नेपाली समाजमा विद्यमान जातीय तथा वर्गीय विभेद, बदलिँदो सामाजिक सोच र नयाँ पुस्ताका आकांक्षालाई कथामा समेटिने बताइएको छ।

निर्माण पक्षका अनुसार फिल्मका अन्य कलाकार तथा प्राविधिक टोली छनोटको काम अन्तिम चरणमा पुगेको छ। मुख्य पुरुष कलाकारको नाम भने केही समयपछि सार्वजनिक गरिनेछ।

फिल्मको छायांकन दशैंपछि सुरु गर्ने तयारी भइरहेको छ। मुख्य पुरुष कलाकारको औपचारिक घोषणा गरेपछि निर्माणसम्बन्धी थप जानकारी सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।

रे अफ आर्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘हाम्रो सानो घर’ निर्देशक सुमन गजमेरको पहिलो फिचर निर्देशकीय फिल्म हो। गजमेरले यसअघि ‘रंगी’, ‘एक्का तीन : च्याप्टर १’, ‘शेर्वा’ लगायतका फिल्ममा लेखकका रूपमा काम गरिसकेका छन्।

उनले ‘कठपुतली’, ‘बाबरी’, ‘महापुरुष’ र ‘बलिदान’ लगायतका फिल्ममा सहायक निर्देशकका रूपमा समेत काम गरेका छन्। गजमेरद्वारा लिखित तथा निर्देशित लघु फिल्म ‘बत्तीको पुतली’ विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा छनोट भइसकेको छ।

‘हाम्रो सानो घर’मार्फत फिचर फिल्म निर्देशकका रूपमा नयाँ यात्रा सुरु गर्न लागेका गजमेरले पूर्णिका सिजापतिलाई मुख्य अभिनेत्रीका रूपमा प्रस्तुत गर्न लागेका हुन्। मुख्य पुरुष कलाकारको घोषणासँगै फिल्मको स्टारकास्ट र कथाबारे थप जानकारी सार्वजनिक हुने अपेक्षा गरिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech