नेपाल आउँदै ‘टनेल २६’को भुटानी टोली, मंगलबार ट्रेलर सार्वजनिक हुँदै

निर्माता तथा कलाकार साङ्गे छेल्ट्रिमको नेतृत्वमा १६ सदस्यीय टोली सोमबार बिहान काठमाडौं आइपुगेको हो। टोलीका थप पाँच सदस्य पनि नेपाल आउने बताइएको छ।

काठमाडौं । असोज २३ गतेको नेपाल प्रदर्शनलाई लक्षित गर्दै फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’को प्रचारप्रसारका लागि भुटानी निर्माण टोली नेपाल आइपुगेको छ। निर्माता तथा कलाकार साङ्गे छेल्ट्रिमको नेतृत्वमा १६ सदस्यीय टोली सोमबार बिहान काठमाडौं आइपुगेको हो। टोलीका थप पाँच सदस्य पनि नेपाल आउने बताइएको छ।

नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जम्बी हरर फिल्मको टिजर यसअघि नै सार्वजनिक भइसकेको छ। फिल्मको ट्रेलर मंगलबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी सार्वजनिक गरिँदैछ। सोही कार्यक्रममा सहभागी हुन भुटानी निर्माण पक्ष, प्राविधिक तथा कलाकारको टोली नेपाल आएको हो।

टोलीको नेतृत्व गरेका निर्माता तथा अभिनेता साङ्गे छेल्ट्रिमले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै फिल्म निर्माणमा एक वर्षभन्दा बढी समय मेहनत गरेको बताए। उनले नेपाल र भुटानको सहकार्यलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने उद्देश्यसहित फिल्म निर्माण गरिएको दाबी गरे।

फिल्मका लेखक, निर्देशक तथा सम्पादक डीडी किन्लेले पनि फिल्मको प्रदर्शनलाई लिएर आफूहरू उत्साहित रहेको बताए। उनका अनुसार फिल्म अहिले अन्तिम चरणमा छ।

साङ्गे छेल्ट्रिम फिल्म्स र पिक एक्सभी स्टुडियोजको ब्यानरमा निर्माण भएको फिल्ममा चौधरी ग्रुपका निर्वाण चौधरी, अभिनेता प्रदीप खड्का, भारतीय फिल्ममेकर प्रशान्त कुमार गुप्ता, साङ्गे छेल्ट्रिम तथा दोर्जी वाङ्चुकसहित निर्माताको सहकार्य छ। दोर्जी वाङ्चुक कार्यकारी निर्माता र प्रदीप खड्का क्रिएटिभ प्रोड्युसर हुन्।

फिल्ममा साङ्गे छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादा मुख्य भूमिकामा छन्।

भुटानको शाही सरकारअन्तर्गतको मिडिया, क्रिएटिभ इन्डस्ट्री तथा इन्टेलेक्चुअल प्रोपर्टी विभागको समेत सहयोग रहेको फिल्मको नेपाल व्यवस्थापन लिभेन्टस् स्टुडियो प्रा.लि.ले गरेको छ। फिल्म असोज २३ गते नेपाल र भुटानमा एकसाथ प्रदर्शनमा आउनेछ।

bhutan actors in nepal1.jpeg

 

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech