‘बा : एक योद्धा’मा आफ्नो पात्रलाई फरक पाएकी सुहाना

फिल्मी फण्डा। अभिनेत्री सुहाना थापाले फिल्म ‘बा : एक योद्धा’ केही फरक र इन्ट्रेस्टिङ रहेको बताएकी छन्। भदौ १९ गतेदेखि प्रदर्शनमा आउने फिल्म हेर्न आग्रह गर्दै उनले यसमा दर्शकले फरकपन महसुस गर्ने बताएकी हुन्।

यो फिल्म र आफूले निर्वाह गरेको पात्र आफ्ना लागि भिन्न रहेको सुहानाले बताइन्। फिल्ममा सन्तानका लागि बाबुआमाले गर्ने त्याग र समर्पणलाई प्रस्तुत गरिएको उनले जानकारी दिइन्।

“हामी सबैलाई हाम्रो बाबा–आमाले हाम्रा लागि गरेको सेक्रिफाइस (त्याग) याद हुन्छ। तर, हामी त्यसलाई बाबा–आमाका अगाडि खुलेर भन्न सक्दैनौँ,” सुहानाले भनिन्, “मेरो पात्रले मेरो बुबाले मेरा लागि कसरी सेक्रिफाइस गर्नुभएको छ भन्ने कुरा परिभाषित गरिदिएको छ।”

फिल्ममा केही रमाइला र दर्शकसँग जोडिने विषय रहेको भन्दै सुहानाले सबैलाई फिल्म मन पर्ने विश्वास व्यक्त गरिन्। दर्शकलाई आफ्नै कथाजस्तो लाग्ने र फिल्मले सुरुदेखि अन्त्यसम्म बाँधेर राख्ने भएकाले ‘बा : एक योद्धा’ हेर्न उनले आग्रह गरिन्।

भदौ १९ गतेदेखि प्रदर्शनमा आउने ‘बा : एक योद्धा’ले नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीको कथा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।

फिल्ममा सुहानासँगै दिव्यदेव पन्त, झरना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय रहेको छ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्म कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो। नेपाली संगीत क्षेत्रमा दर्जनौँ चर्चित गीत दिएका लम्साल रचनाकार तथा गायक पनि हुन्। फिचर फिल्मतर्फ ‘बा : एक योद्धा’ उनको पहिलो निर्देशन हो।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा पटकथा लम्सालले नै लेखेका हुन्। फिल्मका निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माता छन्।

शिवराम श्रेष्ठको छायांकन रहेको फिल्मका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन्। ‘बा : एक योद्धा’लाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।

 
 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech