‘युग’को वर्कसप सम्पन्न, भदौ दोस्रो सातादेखि छायांकन

फिल्मी फण्डा। हिमालयन मुभिज प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘युग’को वर्कसप सम्पन्न भएको छ। निर्माण टिमका अनुसार वर्कसप सम्पन्न भएसँगै फिल्मको छायांकन भदौ दोस्रो सातादेखि सुरु हुनेछ।

निर्देशक कोमलनाथ खतिवडाका अनुसार कलाकारहरूको चरित्र र प्रस्तुति तयारीका लागि वर्कसप आयोजना गरिएको थियो। उनका अनुसार कलाकारको तयारीलाई अन्तिम रूप दिएपछि छायांकन तीव्र गतिमा अघि बढाइनेछ।

सामाजिक विषयवस्तुमा आधारित फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक खतिवडाकै रहेको छ। फिल्मलाई सुरेश तुमाहाम्फे र टेमनबहादुर आलेले निर्माण गर्नेछन्।

‘युग’मा सरोज खनाल, दिक्पाल कार्की, गीता अधिकारी, तारा केसी, सुरवीर पण्डित, टिना आले मगर, सानु थापा मगर, ज्योतिका राना, सुमन थापालगायत कलाकारको अभिनय रहनेछ।

फेसन कोरियोग्राफर हिमानी सुब्बाले यही फिल्ममार्फत नेपाली रजतपटमा डेब्यु गर्दैछिन्। त्यस्तै, मोडल तथा ‘मिस्टर ह्यान्डसम नेपाल २०१९’का विजेता अभिषेक खड्काले पनि ‘युग’बाट अभिनय यात्रा सुरु गर्नेछन्।

निर्माण टिमका अनुसार फिल्मको छायांकन भदौ दोस्रो साताबाट सुरु गर्ने तयारी गरिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech