‘झिंगे दाउ’ले युट्युबमा पायो आक्रामक भ्युज, दुई दिनमै २१ लाख पार

फिल्मी फण्डा। ओएसआर डिजिटलबाट शुक्रबार सार्वजनिक भएको फिल्म ‘झिंगे दाउ’ले युट्युबमा आक्रामक भ्युज पाइरहेको छ। सार्वजनिक भएको दुई दिनमै फिल्मको भ्युज २१ लाख नाघेको छ।

दर्शकको सकारात्मक प्रतिक्रियासहित फिल्मले डिजिटल प्लेटफर्ममा राम्रो भ्युज पाइरहेको हो। फिल्मले प्रदर्शनका क्रममा बक्स अफिसमा पनि सुखद कमाइ गरेको थियो।

‘झिंगे दाउ’ले युट्युबमा राम्रो प्रतिक्रिया पाइरहेका बेला यसको दोस्रो श्रृंखला ‘झिंगे दाउ २’को गीतको छायांकन गरिएको छ। तीजलाई लक्षित गर्दै छायांकन गरिएको शीर्ष गीतमा अभिनेत्री केकी अधिकारी र आँचल शर्मा छमछमी नाचेका छन्।

रातो सारीमा प्रस्तुत केकी र आँचलले गीतमा मादल बजाउँदै नाच्नुका साथै झगडा पनि गरेका छन्। गीतमा जेठानी–देउरानीबीचको सम्बन्ध र झगडालाई प्रस्तुत गरिएको छ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको ‘झिंगे दाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउनेछ। गीतमा बाबुल गिरीको शब्द तथा संगीत र एलिना चौहान तथा रचना रिमालको स्वर रहेको छ। गीत भदौ १० गते सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा केकी र आँचलले दर्शकको राम्रो साथ पाउने विश्वास व्यक्त गरेका छन्।

कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी छ। रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता छन्।

विष्णु घिमिरे ‘कल्पित’को छायांकन रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत तथा रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको छ। ईश्वर घिमिरे प्रोडक्सन हेड हुन्।

फिल्ममा केकी र आँचलसँगै महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाललगायत कलाकारको अभिनय रहेको छ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन रहेको छ। फिल्मको टिजरले यसअघि नै दर्शकको ध्यान खिचिसकेको निर्माण पक्षले जनाएको छ।

 
 
 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech