भदौ २६ मा ‘माया भनेकै यस्तो होला’, रेखाको निर्देशनमा दिल श्रेष्ठको कमब्याक

फिल्मी फण्डा । अभिनेत्री तथा निर्देशक रेखा थापाको निर्देशनमा बनेको फिल्म ‘माया भनेकै यस्तो होला’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । प्रेम, विवाह, विश्वास र सम्बन्धमा आउने उतारचढावलाई कथाको केन्द्रमा राखिएको फिल्म रेखाको लामो समयपछिको निर्देशन कमब्याक हो ।

 


फिल्मको केही दिनअघि शीर्ष गीतसँगै टिजर पनि सार्वजनिक गरिएको थियो । सार्वजनिक टिजरले फिल्म प्रेमकथामा मात्र सीमित नभई विवाह, बाध्यता, विश्वास र धोकाको कथामा अघि बढेको संकेत गरेको छ ।

 


टिजरमा दिल श्रेष्ठको जीवनमा नीति शाह र सृष्टि श्रेष्ठको प्रवेश देखाइएको छ । सुरुवातमा दिल र नीतिको सम्बन्धलाई प्रेमपूर्ण रूपमा प्रस्तुत गरिएको छ । उनीहरू सँगै हाँसेका, रमाएका र भविष्यका सपना बुनेका दृश्यपछि कथा फरक मोडमा पुग्छ ।

 


दिल विवाहको मण्डपमा पुगे पनि उनले माया गरेको प्रेमिका त्यहाँ नदेखिएपछि टिजरले फिल्मको मुख्य द्वन्द्वतर्फ संकेत गर्छ । ‘जुन केटीसँग म विवाह गर्न आएँ, उनी त्यो थिइनन्, जसलाई मैले माया गरेको थिएँ’ भन्ने संवादले कथामा रहेको ट्विस्टलाई थप रहस्यमय बनाएको छ ।

 

शीर्ष गीतले पनि फिल्मको प्रेम र भावनात्मक पक्षलाई प्रस्तुत गरेको छ । गीत र टिजर सार्वजनिक भएपछि फिल्मप्रति दर्शकको चासो बढेको निर्माण पक्षको दाबी छ ।

 

यसअघि ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरेकी रेखा करिब आठ वर्षपछि निर्देशनमा फर्किएकी हुन् । अघिल्ला फिल्ममा एक्सन र नारी शक्तिलाई प्राथमिकता दिँदै आएकी रेखाले यसपटक भने प्रेम तथा भावनात्मक कथालाई रोजेकी छन् ।

 

फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह मुख्य भूमिकामा छन् । लक्ष्मी गिरी, रवि डङ्गोल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायत कलाकारको पनि अभिनय रहेको छ ।


दिल श्रेष्ठको कमब्याक

‘माया भनेकै यस्तो होला’ अभिनेता दिल श्रेष्ठका लागि पनि विशेष फिल्म हो । सन् २०११ मा ‘पर्खि राख है’बाट फिल्ममा डेब्यु गरेका दिलले त्यसपछि ‘हिरो रिटर्न्स’मा अभिनय गरेका थिए । पछिल्लो फिल्मपछि करिब ६ वर्षको अन्तरालमा उनी ठूलो पर्दामा फर्किन लागेका हुन् ।

 


‘हिरो रिटर्न्स’मा रेखा थापासँगै अभिनय गरेका दिल यसपटक रेखाकै निर्देशनमा मुख्य भूमिकामा देखिँदैछन् ।टिजरमा नीति शाहलाई चञ्चल तथा प्रेमिल अवतारमा प्रस्तुत गरिएको छ भने सृष्टि श्रेष्ठको भूमिका गम्भीर र रहस्यमय देखिन्छ । नम्रता श्रेष्ठको उपस्थितिले पनि कथामा थप आयाम ल्याउने संकेत गरेको छ ।

 

‘दिया एन्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ हुन् । ध्रुव लम्सालको पटकथा रहेको फिल्मको छायांकन सुदीप बरालले गरेका छन् ।

 

फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहेको छ । अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, सुजेनी मल्ल ड्रेस डिजाइनर र प्रिया कार्की मेकअपमा छन् ।

 

फिल्मलाई रीच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले देशभर वितरण गर्नेछन् । ‘माया भनेकै यस्तो होला’ भदौ २६ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउनेछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech