फिल्मी फण्डा। असोज ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जदौ’को टिजर सार्वजनिक गरिएको छ। शनिबार हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत करिब एक मिनेट लामो टिजर सार्वजनिक गरिएको हो।
टिजरमा नयाँ पुस्ताका युवायुवतीबीचको त्रिकोणात्मक प्रेमसँगै अभिभावक पुस्ताबीचको द्वन्द्वलाई प्रस्तुत गरिएको छ। अभिनेता प्रभातपाल ठकुरीको नीति शाह र राजश्री थापासँगको प्रेम सम्बन्धलाई टिजरमा देखाइएको छ। अभिभावक पुस्ताको प्रतिनिधित्व भने मुकुन भुसाल र ऋचा शर्माले गरेका छन्।
अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्म अन्तरजातीय प्रेम र त्यसले निम्त्याउने सामाजिक समस्याको कथामा आधारित छ। निर्देशक शर्माका अनुसार नेपाली समाजमा विद्यमान जातीय विभेदबाट उत्पन्न समस्या र त्यसको समाधानका लागि चालिने कदमलाई फिल्ममा प्रस्तुत गरिएको छ।
लेखकसमेत रहेका निर्देशक लिम्बूले फिल्ममा मनोरञ्जनसँगै जातीय भेदभाव र असमानताको खाडल पुर्न आवश्यक सन्देश प्रस्तुत गरिएको बताए।
समीश्रण मुभीज एन्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको फिल्ममा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभातपाल ठकुरी, राजश्री थापासँगै विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्गबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा, रोहित कार्की र स्वस्तिका चौधरीलगायत कलाकारको अभिनय रहेको छ।
फिल्मका गीतमा प्रीति कौर, बाबुल गिरी र गोपाल लोहारको शब्द तथा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत छ। गीतमा राजनराज शिवाकोटी, रचना रिमाल, किरण गजमेर र बाबुल गिरीको स्वर रहेको छ। रामजी लामिछानेले गीतको कोरियोग्राफी गरेका छन्।
श्याम तामाङ र नवराज उप्रेतीको छायांकन रहेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन्। राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल र नारायण शास्त्री सहनिर्माता रहेको फिल्मका निर्माता सिर्जना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल हुन्। शान्ति पुडासैनी कार्यकारी निर्माता तथा विमला भण्डारी प्रोडक्सन हेड हुन्।