दुई पोस्टरसँगै ‘माया बस्छ कि क्या हो !’को प्रदर्शन मिति घोषणा

फिल्मी फण्डा।  प्रेमकथानक फिल्म ‘माया बस्छ कि क्या हो !’को दुई नयाँ पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ। राजु अधिकारी निर्देशित फिल्म असोज २ गतेदेखि प्रदर्शनमा आउने भएको हो।

सार्वजनिक पोस्टरमा नवअभिनेता सोनाल तामाङ र नवअभिनेत्री कस्मता निरौला फिचर्ड छन्। पोस्टरमा उनीहरूलाई युवा प्रेम जोडीका रूपमा प्रस्तुत गरिएको छ। पोस्टरमा उनीहरूको प्रेम, सम्बन्ध र समर्पणको भाव झल्काइएको छ।

शरद अधिकारीको प्रस्तुति रहेको फिल्मका निर्माता बहादुर सिंह तामाङ हुन्। आरती अधिकारी आचार्यको कथा रहेको फिल्मको पटकथा तथा संवाद मौनता श्रेष्ठले लेखेकी छन्। रामप्रसाद चौधरीको सम्पादन रहेको फिल्मको छायांकन रविन्द्र बरालले गरेका हुन्।

फिल्ममा अर्जुन पोखरेलको संगीत तथा कमल राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। बेल्जियम, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्सलगायत युरोपेली देशसँगै काठमाडौं र चित्लाङमा फिल्मको छायांकन गरिएको हो।

फिल्ममा सोनाल र कस्मतासँगै नरेन्द्र थापा, रिचा थापा, उपेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, हरिकृष्ण कार्की, तेजेन्द्र कँडेल, सुकचन्द्र थापा, तारा शर्मा, जेपी पाण्डे, करुणा श्रेष्ठ, रामजी राउत, खिन्नबहादुर भण्डारी (भोला), बिकुलाल बासुलगायत कलाकारको अभिनय रहेको छ।

प्रेम, सम्बन्ध र युवा पुस्ताको भावनालाई केन्द्रमा राखिएको फिल्मले हरेक उमेर समूहका दर्शकको मन जित्ने विश्वास प्रस्तुतकर्ता अधिकारीको छ। दर्शकलाई प्रेमको नौलो अनुभूति गराउन युरोप पुगेर फिल्मको छायांकन गरिएको उनले बताए।

अधिकारीले यसअघि ‘ब्ल्याकमेल’ र ‘डेस्टिनेसन काठमाडौं’लगायत फिल्म निर्माण गरेका थिए। जनपुकार मिडिया हाउसको ब्यानरमा निर्माण भएको फिल्मको वितरण नेसनल सिने ग्रुपले गर्नेछ।

 
 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech