कबीर खड्काको अपोजिटमा आकृति बुढाथोकी

फिल्मी फण्डा। प्रवेश पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘मायालु’मा अभिनेत्री आकृति बुढाथोकी अनुबन्धित भएकी छन्। निर्देशक पौडेलले आकृतिलाई फिल्मको मुख्य भूमिकाका लागि अनुबन्ध गरिएको जानकारी दिएका हुन्।

निर्देशक पौडेलले यसअघि ‘अमेरिका बोइज’ र ‘बिहे पास’ निर्देशन गरेका थिए। ‘मायालु’ उनको तेस्रो निर्देशकीय फिचर फिल्म हुनेछ।

फिल्म घोषणा गर्दा यसको नाम ‘मेरो अधुरो प्रेम’ राखिएको थियो। हाल उक्त नाम होल्ड गर्दै ‘मायालु’को काम अघि बढाइएको हो। ‘मायालु’ प्रदर्शनपछि ‘मेरो अधुरो प्रेम’ नाममा पनि फिल्म निर्माण गर्ने निर्देशक पौडेलले बताए।

आकृतिको यो दोस्रो फिल्म हो। यसअघि उनले ‘मुक्तिपुर’मा अभिनय गरेकी छन्। ‘मुक्तिपुर’ प्रदर्शनमा आउनुअघि नै आकृति नयाँ फिल्ममा आबद्ध भएकी हुन्।

नाट्य क्षेत्रबाट अभिनय यात्रा सुरु गरेकी बुढाथोकी मोडलसमेत हुन्। ‘मायालु’मा उनी मुख्य भूमिकामा देखिनेछिन्।

मुख्य अभिनेत्रीमा आकृति फाइनल भएसँगै फिल्मका लागि सहायक अभिनेत्रीको खोजी भइरहेको निर्देशक पौडेलले बताए। ‘हामीले मुख्य अभिनेत्रीमा आकृति बुढाथोकीलाई टिममा जोडेका छौँ। अब सहायक अभिनेत्रीको खोजीमा छौँ,’ उनले भने।

यसअघि नै फिल्मको मुख्य अभिनेताका रूपमा कबीर खड्का अनुबन्धित भइसकेका छन्। निर्देशक पौडेलका अनुसार ‘मायालु’ त्रिकोणात्मक प्रेमकथामा आधारित हुनेछ। निर्देशक पौडेलकै कथा रहेको फिल्मको पटकथा अनिल कुर्मीले लेख्नेछन्।

मुख्य कलाकारबाहेक अन्य पात्रका लागि कलाकार अस्ट्रेलियाबाटै छनोट गरिने निर्देशक पौडेलले बताए। फिल्मको छायांकन अस्ट्रेलिया र नेपालमा हुनेछ। अस्ट्रेलियाबाटै फिल्मको छायांकन सुरु गर्ने तयारी छ।

साउनमा छायांकन सुरु गर्ने तयारी गरिए पनि कलाकारको भिसा प्रक्रियाका कारण निर्धारित समयमा काम सुरु हुन सकेन। अब दसैँपछि छायांकन सुरु गर्ने तयारी भइरहेको निर्देशक पौडेलले बताए। फिल्मको छायांकन शरद महतोले गर्नेछन्।

सितारा र कबीर खड्का फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा सुरेन्द्र रावलको लगानी रहनेछ। सुन्दर प्रेमकथा दर्शकमाझ प्रस्तुत गर्ने उद्देश्यले आफूले फिल्म निर्माणमा पाइला चालेको उनले बताए। विवेक पौडेल सह–निर्माता रहेको फिल्ममा शिवाकर प्रसाईं कार्यकारी निर्देशक छन्।

सुनिल निउरे मुख्य सहायक निर्देशक र बमबहादुर थापा एसोसिएट निर्देशकका रूपमा जोडिएका छन्। फिल्ममा अनमोल थापाको संगीत रहनेछ।

 
 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech