फिल्मी फण्डा। बेलायतमा नेपाली समुदायको विस्तारसँगै नेपाली गीत–संगीतप्रतिको रुचि पनि बढ्दो छ। नेपालबाट पुगेका कलाकारलाई आफ्नै सहरमा प्रत्यक्ष सुन्न र भेट्न पाउने अवसर प्रवासी नेपालीका लागि मनोरञ्जनसँगै आफ्नो भाषा, संस्कृति र देशसँग जोडिने माध्यम बन्दै गएको छ।

यही क्रममा लन्डनस्थित बीएसके इन्टरटेनमेन्टले गत अगस्ट १ मा एप्स कोर्टमा ‘बीएसके फेस्टिभल’ आयोजना गर्यो। कार्यक्रममा कुमा सागर एन्ड द ख्वप, सज्जन राज वैद्य, द इलिमेन्ट्स र भक्त ब्यान्डले प्रस्तुति दिएका थिए। नयाँदेखि पुराना गीतसम्म प्रस्तुत गर्दा कलाकारसँगै दर्शक पनि उत्साहका साथ सहभागी भएका थिए।
सन् २०१९ मा स्थापना भएको बीएसके इन्टरटेनमेन्टले बेलायतमा नेपाली कलाकार र संगीतकर्मीलाई जोड्दै विभिन्न सांगीतिक कार्यक्रम गर्दै आएको छ। संस्थाका अनुसार हालसम्म नेपालबाट ३३ जना कलाकारलाई लन्डनमा प्रस्तुति दिन ल्याइसकिएको छ। नेपथ्य, ‘द भ्वाइस अफ नेपाल’का सहभागी जनक राई, सबिन राई, जोन चाम्लिङ राई र दुर्गेश थापालगायत कलाकारसँग संस्थाले सहकार्य गरिसकेको छ।

नेपालबाट जाने कलाकार र बेलायतमै रहेका नेपाली संगीतकर्मीलाई एउटै मञ्चमा ल्याउने तथा नेपाली संगीतको बजारलाई विदेशसम्म विस्तार गर्ने उद्देश्यसहित बीएसकेले कार्यक्रम गर्दै आएको जनाएको छ।
‘नेपाली कलाकार नेपालमा मात्रै सीमित हुनु हुँदैन, नेपाली मन जहाँ छ, त्यहाँ उनीहरूको संगीत पनि पुग्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो,’ बीएसके इन्टरटेनमेन्टका निर्देशक सोम चाम्सले भने, ‘नेपालबाट कलाकार ल्याएर प्रवासमा रहेका नेपाली दर्शकसँग जोड्ने र यहाँ रहेका कलाकारलाई पनि एउटै प्लेटफर्ममा ल्याउने काम गरिरहेका छौं।’
बीएसकेले नेपाली संगीतको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने प्रयासस्वरूप विभिन्न गतिविधि गर्दै आएको चाम्सले बताए। उनका अनुसार बीएसके इन्टरटेनमेन्टको प्लेकार्ड पर्वतारोही निर्मल पुर्जाका भाइमार्फत सगरमाथाको शिखरसम्मसमेत पुर्याइएको थियो।
नेपाल र प्रवासमा रहेका कलाकार तथा दर्शकबीचको सम्बन्धलाई संगीतमार्फत थप बलियो बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बीएसकेको भनाइ छ।