सौरभको ‘द राइज अफ साम्राज्य’मा दयाहाङको प्रवेश

फिल्मी फण्डा। निर्देशक सौरभ चौधरीले नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’ का लागि अभिनेता दयाहाङ राईलाई मुख्य भूमिकामा अनुबन्ध गरेका छन्। यसअघि अभिनेता सौगात मल्ललाई अनुबन्ध गरिसकेको निर्माण टिमले दयाहाङलाई पनि फिल्ममा भित्र्याएको हो।

सौगात र दयाहाङ नेपाली फिल्मका चर्चित जोडी हुन्। ‘लुट’बाट एकसाथ चर्चामा आएका यी दुई कलाकार लामो समयपछि एउटै फिल्ममा देखिन लागेका हुन्। यी दुई कलाकारको सहकार्यले फिल्मप्रति दर्शकको चासो बढ्ने निर्माण पक्षको अपेक्षा छ।

“हामीले हालसम्म सौगात र दयाहाङलाई हाम्रो फिल्ममा भित्र्याएका छौँ। यी दुई नामसँगै हामीसँग अझै सरप्राइजिङ नाम बाँकी नै छ,” निर्देशक चौधरीले भने, “हामी यसपटक फिल्मलाई राम्रो र प्रतीक्षित बनाउन कुनै कसर बाँकी राख्ने छैनौँ। दर्शकलाई सकेसम्म राम्रो र स्तरीय फिल्म दिनु हाम्रो उद्देश्य हो।”

दयाहाङ र सौगातको प्रवेशसँगै फिल्मको लाइनअप बलियो बनेको निर्माण पक्षको दाबी छ। निर्देशक चौधरीले दयाहाङसँग पहिलोपटक सहकार्य गर्न लागेका हुन्। उनका अनुसार फिल्ममा दयाहाङलाई फरक चरित्रमा प्रस्तुत गरिनेछ।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म मल्टीस्टारर हुनेछ। फिल्मको कथा तथा पटकथा उपन्यासकार बुद्धिसागरले लेखेका छन्। निर्देशक चौधरीका अनुसार फिल्म ‘एपिक एक्सन ड्रामा’ हुनेछ।

निर्माण पक्षले फिल्मलाई ठूलो क्यानभासमा निर्माण गर्ने तयारी गरेको छ। यो नेपाली फिल्मकै ठूलो स्केलको एक्सन फिल्म हुने दाबी निर्माण पक्षको छ।

फिल्मको छायांकन आगामी भदौको पहिलो साताबाट सुरु हुनेछ। निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ। फिल्मको अधिकांश छायांकन पूर्वी नेपालमा गरिनेछ।

फिल्मका निर्माता प्रवेश चौधरी र निला देव हुन्। विश्वास बस्नेत (बेन) सहनिर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माता छन्।

मानकृष्ण महर्जनको छायांकन रहने फिल्मको एक्सन निर्देशन श्री श्रेष्ठले गर्नेछन्। ओएसआर डिजिटल डिजिटल पार्टनर, टौवा स्टुडियो पब्लिसिटी पार्टनर तथा डिसीएन वितरक रहेको निर्माण पक्षले जनाएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech