रेखा थापाको ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

फिल्मी फण्डा। आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा गीत सार्वजनिक गरेको हो।

सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द तथा संगीत रहेको छ भने प्रशान्त शिवाकोटी र विज्ञानी पराजुलीको स्वर सुन्न सकिन्छ।

गीतले पहिलो नजरको प्रेम, त्यसपछि जन्मिने भावना र भविष्यका कल्पनालाई प्रस्तुत गरेको छ। भिडियोमा त्रिकोणात्मक प्रेमकथाको झल्को देखाइएको छ, जहाँ एक युवक तीन युवतीबीचको भावनात्मक सम्बन्धमा देखिन्छ।

गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहको अभिनय रहेको छ।

फिल्मलाई रेखा थापाले निर्देशन गरेकी हुन्। ‘हिम्मतवाली’ र ‘मालिका’पछि यो उनको तेस्रो निर्देशकीय फिल्म हो।

दिया एण्ड अमु फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायत कलाकारको अभिनय रहेको छ।

ध्रुव लम्सालको पटकथा रहेको फिल्मले प्रेमकथामार्फत सामाजिक भावनालाई प्रस्तुत गर्ने निर्माण टिमले जनाएको छ। फिल्मका निर्माता हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ हुन्।

फिल्ममा सुदीप बराल डीओपी, अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, प्रशान्त शिवाकोटी संगीतकार, सुजेनी मल्ल ड्रेस डिजाइनर, प्रिया कार्की मेकअप आर्टिस्ट तथा सुमन तिवारी प्रोडक्सन प्रमुख रहेका छन्।

फिल्मलाई रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभर वितरण गर्नेछन्।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech