फिल्मी फण्डा। आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘अक्षरा’को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ।
निर्माण टिमले काठमाडौंमा पत्रकार तथा फिल्मकर्मीको उपस्थितिमा आयोजित कार्यक्रममा गीत सार्वजनिक गरेको हो। गीतको भिडियो मुभिज डिजिटेनमेन्टको युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।
समिक्षा अधिकारीको स्वर रहेको गीतमा सुरेन्द्र रानाको शब्द तथा कर्णराज गिरीको संगीत रहेको छ। लोकलयमा आधारित गीतको भिडियोमा फिल्मका मुख्य अभिनेत्री न्यान्सी खड्का र रिस्ता अधिकारीको नृत्य प्रस्तुत गरिएको छ, जसलाई कार्यक्रममा उपस्थित पत्रकार र फिल्मकर्मीले सकारात्मक प्रतिक्रिया दिएका थिए।
रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मलाई विनयराज पौडेलले निर्देशन गरेका हुन्। फिल्ममा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय रहेको छ। बाल कलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना देखिएका छन्।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन्। उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने हुन्।
फिल्मको मूल कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक विनयराज पौडेलले तयार पारेका छन्।
फिल्मका गीतमा सुरेन्द्र रानाको शब्द, कर्णराज गिरीको संगीत तथा अञ्जु पन्त, समिक्षा अधिकारी, रचना रिमाल र एसडी योगीको स्वर रहेको छ। दिपेन बस्न्यातको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मलाई नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्नेछन्।
निर्माण पक्षका अनुसार फिल्मका सम्पूर्ण डिजिटल सामग्री मुभिज डिजिटेनमेन्टमार्फत सार्वजनिक गरिनेछ। केही दिनअघि निर्माण टिम र डिजिटल कम्पनीका प्रतिनिधि प्रदीप धामी, पुष्कर शर्मा घिमिरे तथा आशिष तामाङबीच डिजिटल व्यवस्थापनसम्बन्धी औपचारिक सम्झौता पनि भएको थियो।
भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको ‘अक्षरा’प्रति निर्माण टिम उत्साहित देखिएको छ।