असोज ९ मा आउने ‘जदौ’को शीर्ष गीत सार्वजनिक ( भिडियो सहित )

फिल्मी फण्डा । आगामी असोज ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘जदौ’ को शीर्ष गीत ‘जदौ हजुर...’ सार्वजनिक गरिएको छ। शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको गीत हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट रिलिज गरिएको हो।

डान्सिङ बिटमा आधारित गीतमा राजनराज शिवाकोटी र रचना रिमालको स्वर रहेको छ। बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा नीति शाह, प्रभातपाल ठकुरी, राजश्री थापालगायत प्रमुख कलाकार फिचर्ड छन्। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

गीत सार्वजनिक कार्यक्रममा गायक राजनराज शिवाकोटी र गायिका रचना रिमालले ‘बदाम, खजुर, दर्शन, सलाम, ढोग दिँया जदौ हजुर...’ बोलको अंश प्रस्तुत गर्दै माहोल तताएका थिए। कार्यक्रममा राजनराजले गीतकार, संगीतकार र गायकका रूपमा आफू स्थापित भए पनि यस गीतमा पहिलो पटक गायकका रूपमा मात्र सहभागी भएको बताए। रचना रिमालले पनि राजनराजसँगको यो आफ्नो पहिलो फिल्मी युगल गायन भएको उल्लेख गरिन्।

अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको फिल्म समीश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्टसँगको सहकार्यमा निर्माण गरेको हो। फिल्ममा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभातपाल ठकुरी, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौडेल, गीता अधिकारी, खड्कबहादुर पुन, सुन्दर धिताल, सन्ध्या श्रेष्ठ र सुमित्रा देवकोटालगायत कलाकारको अभिनय रहेको छ।

कार्यक्रममा अभिनेत्री नीति शाहले ‘जदौ’ अहिले प्रदर्शन भइरहेका फिल्मभन्दा फरक र यथार्थपरक कथामा आधारित रहेको बताउँदै दर्शकले मन पराउने विश्वास व्यक्त गरिन्। अभिनेता मुकुन भुसालले फिल्ममा आफूलाई वास्तविक पात्रका रूपमा प्रस्तुत गरेको बताए भने प्रभातपाल ठकुरीले यस फिल्मलाई आफ्नो करिअरको महत्त्वपूर्ण परियोजनाका रूपमा व्याख्या गरे। यही फिल्मबाट डेब्यु गरेकी राजश्री थापाले पनि आफ्नो पहिलो प्रयासलाई दर्शकले रुचाउने विश्वास व्यक्त गरिन्।

निर्देशक अन्जन शर्माले उत्कृष्ट फिल्म निर्माणका लागि कुनै कसर बाँकी नराखेको बताए। अर्का निर्देशक तथा लेखक काजी लिम्बुले फिल्मले मनोरञ्जनसँगै समाजोपयोगी सन्देश पनि दिने दाबी गरे।

श्याम तामाङ र नवराज उप्रेतीको छायांकन रहेको फिल्मका सहनिर्माता राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल, नारायण शास्त्री र डिल्ली पोखरेल हुन्। सृजना शर्मा र मनीष शर्मा निर्माता तथा शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको फिल्मको प्रोडक्सन हेड विमला भण्डारी हुन्। फिल्मलाई एनजीसीएन ग्रुपले देशव्यापी रूपमा वितरण गर्नेछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech