फिल्मी फण्डा । आगामी साउन २९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘लज्जावती’ को पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ भने सहिमा श्रेष्ठ र रवी ओडको स्वर सुन्न सकिन्छ।
कवीराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजाल फिचर्ड छन्। डान्सिङ नम्बरका रूपमा तयार पारिएको गीतको अडियो र भिडियो दुवैले दर्शकको मन जित्ने विश्वास निर्माण टिमले लिएको छ।
आहा फिल्म्सको ब्यानरमा क्यानी मल्टिभिजन आईएनसीको सहकार्यमा निर्माण भएको फिल्मका निर्देशक राजबहादुर साने हुन्।
फिल्मका प्रस्तुतकर्ता सौरभ ओली हुन् भने कमलप्रसाद शर्मा र सन्दीपकुमार रोका निर्माता तथा दिनेशराज बुढाथोकी कार्यकारी निर्माता रहेका छन्। दिव्यराज सुवेदीको छायांकन रहेको फिल्मका लाइन प्रोड्युसर हरिप्रसाद सिवाकोटी हुन्। क्यानडामा बसोबास गर्दै आएका उनले नेपालमा प्रदर्शन सुरु भएकै मितिदेखि फिल्मलाई क्यानडामा पनि प्रदर्शन गर्ने लक्ष्यका साथ निर्माण टिममा आबद्ध भएको जनाइएको छ।
फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सीपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेललगायत कलाकारको अभिनय रहेको छ। तारा थापा ‘किम्भे’को सम्पादन तथा देव महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मलाई देशव्यापी रूपमा कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।