फिल्मी फण्डा । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। हाल उहाँको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार भइरहेको छ र आइसियूबाट जनरल वार्डमा सारेर उपचार भइरहेको छ।
अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै चलचित्र ‘छ माया छपक्कै–२’ को छायांकनकै क्रममा दीपाश्रीलाई ब्रेन ट्युमर भएको पत्ता लागेको बताउनुभएको छ। उहाँका अनुसार उक्त खबरले चलचित्र टिमलाई केही समय अन्योलमा पारे पनि अन्ततः नेपालमै वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तको नेतृत्वमा शल्यक्रिया गर्ने निर्णय गरिएको थियो।
“भगवानको आशीर्वादले शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो। अहिले उहाँ आइसियूबाट जनरल वार्डमा आएर स्वास्थ्यलाभ गरिरहनुभएको छ,” दीपकराजले लेख्नुभएको छ। उहाँले उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गर्दै शुभेच्छुकहरूको प्रार्थना र साथका लागि धन्यवादसमेत दिनुभएको छ।
केही दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि दीपाश्रीलाई अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो। वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तको नेतृत्वमा भएको शल्यक्रिया सफल भएपछि उहाँको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ।
दीपाश्री निरौला नेपाली चलचित्र उद्योगकी सफल अभिनेत्री, निर्देशक तथा निर्माता हुन्। उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै चलचित्रकर्मी, शुभेच्छुक तथा दर्शकहरूले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरिरहेका छन्।