बोल्ड लुक, दमदार बिट र इन्दिराको स्वर, ‘सेन्सेशन्’ले पस्कियो नयाँ म्युजिकल स्वाद

फिल्मी फण्डा । आधुनिक संगीत, आकर्षक नृत्य र ग्ल्यामरको संगम बनेको नयाँ गीत ‘सेन्सेशन्’ सार्वजनिक भएको छ। गायिका इन्दिरा जोशीको सशक्त स्वरमा सजिएको यो बोल्ड डान्स नम्बरले संगीतप्रेमीलाई नयाँ स्वाद दिने प्रयास गरेको छ।

‘ट्रिपल ए प्रोडक्सन हाउस’को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा इन्दिरालाई वरिष्ठ गायक रामकृष्ण ढकालले स्वरमा साथ दिएका छन्। मनोज खड्काको शब्दलाई कल्याण सिंहले संगीतबद्ध गरेका हुन् भने गोपाल रसाइलीको संगीत संयोजनले गीतलाई थप आकर्षक बनाएको छ।

Indira Joshi Song - Sensation 1.png

उत्साहपूर्ण लय र आधुनिक शैलीमा तयार गरिएको गीतको भिडियोमा चर्चित डान्सर आश्मा विश्वकर्मा र रोशन विश्वकर्माको ऊर्जावान नृत्य तथा अभिनय देख्न सकिन्छ। बोल्ड प्रस्तुतिसँगै उनीहरूको केमेस्ट्रीले भिडियोलाई अझ जीवन्त बनाएको छ।

भिडियोको निर्देशन रोशन विश्वकर्मा स्वयंले गरेका हुन् भने सुनिता पोखरेलको कोरियोग्राफीले गीतको ऊर्जा र भावलाई प्रभावकारी रूपमा पर्दामा उतारेको छ। आकर्षक दृश्य संयोजन र नृत्यको तालमेलले भिडियोलाई सुरुदेखि अन्त्यसम्म रोचक बनाएको छ।

उत्सव दाहाल र उनको टोलीले छायाङ्कन गरेको भिडियोमा डिन्सन शाहको सम्पादन तथा रङ्ग संयोजनले आधुनिक दृश्यात्मक सौन्दर्य थपेको छ। यसैगरी, दीपेन गौतम ‘माइकल’ प्रोडक्सन म्यानेजर, आशा गौतम कस्ट्युम डिजाइनर, सुभाष तिमल्सिना मेकअप आर्टिस्ट तथा राजीव श्रेष्ठ फोटोग्राफरका रूपमा आबद्ध छन्।

गीतको अडियो साउन्डमिल स्टुडियोमा रेकर्ड गरिएको हो। महेश्वर राजभण्डारीले मिक्सिङ तथा मास्टरिङ गरेको यस गीतले आधुनिक संगीत, ग्ल्यामर र मनोरञ्जनलाई एउटै फ्रेममा बाँध्ने प्रयास गरेको छ।

निर्माण टिमले ‘सेन्सेशन्’लाई दर्शकमाझ मनोरञ्जनको नयाँ प्याकेजका रूपमा प्रस्तुत गरेको जनाएको छ। आकर्षक दृश्य, दमदार संगीत र नृत्यको संयोजनले यो गीतले डिजिटल प्लेटफर्ममा राम्रो प्रतिक्रिया प्राप्त गर्ने विश्वास निर्माण पक्षको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech