फिल्मी फण्डा । सन्तानका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने आमाको अथाह ममता र बुढेसकालमा उनले भोग्नुपर्ने एक्लोपनको पीडालाई मार्मिक ढंगले प्रस्तुत गर्दै फिल्म ‘झिंगे दाउ २’ले पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरेको छ। गीत केवल संगीत होइन, आमाप्रतिको सम्मान, त्याग र समाजको तितो यथार्थलाई बोल्ने भावनात्मक अभिव्यक्ति बनेर आएको छ।
कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रु नेपाल प्रा.लिको प्रस्तुतिमा निर्माण भएको तथा आगामी असोज २ गते प्रदर्शनमा आउने यस चलचित्रको सार्वजनिक गीतमा प्रमोद खरेल र मनिषा सुनारको सुमधुर स्वर सुन्न सकिन्छ। डा. कृष्णहरि बरालको मार्मिक शब्दलाई अर्जुन पोखरेलले हृदयस्पर्शी संगीतले सजाएका छन्।
गीतले आमाको महानता मात्र गाएको छैन, सन्तान हुँदाहुँदै पनि वृद्धाश्रममा जीवन बिताउन बाध्य भएका आमाबुबाको यथार्थलाई अत्यन्त संवेदनशील ढंगले चित्रण गरेको छ। त्यसैले यो गीत फिल्मको कथावस्तुको भावनात्मक केन्द्रका रूपमा समेत प्रस्तुत भएको छ।
गीतको भिडियोमा विशेष उपस्थितिका रूपमा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा देखिएका छन्। उनीहरूसँगै फिल्मका मुख्य कलाकार आर्यन सिग्देल, हिउँवाला गौतम, बसुन्धरा भुषाल र चैत्यदेवी सिंहको भावपूर्ण अभिनयले गीतलाई अझ प्रभावशाली बनाएको छ।
निर्देशक ज्ञानेन्द्र देउजाले गीतको दृश्य संयोजनलाई कथाको भावसँग गहिरो रूपमा जोड्ने प्रयास गरेका छन्। रामजी लामिछानेको कोरियोग्राफी, भावअनुसारको दृश्य निर्माण र छायांकनले गीतलाई दृश्यात्मक रूपमा पनि सशक्त बनाएको छ।
फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभय राज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुषाल, रेन प्रधान, विनोद कुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापाको अभिनय रहेको छ।
सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको फिल्ममा बिष्णु घिमिरे ‘कल्पित’ को डीओपी, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन तथा परिच्छेद सेनको पटकथा र संवाद रहेको छ। फिल्मको लेखन गोविन्द फुयाल र शिशिर चालिसेले गरेका हुन् भने छायांकन विवेक बस्नेत र ईश्वर सिंखेमानले गरेका छन्। ईश्वर घिमिरे प्रोडक्सन म्यानेजरका रूपमा रहेका छन्।
यसअघि सार्वजनिक भएका पोस्टरले चर्चा बटुलिरहेको बेला अब ‘महिमा आमाको’ गीतले फिल्मप्रति दर्शकको उत्सुकता थप बढाउने संकेत दिएको छ। तीन वर्षअघि प्रदर्शनमा आएको ‘झिंगे दाउ’ले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेको थियो। त्यसैले यसको सिक्वेल ‘झिंगे दाउ २’बाट पनि निर्माण पक्षले त्यत्तिकै बलियो अपेक्षा राखेको छ। फिल्मलाई नेपालभर एप्पल इन्टरटेन्मेन्टले वितरण गर्नेछ।