फिल्मी फण्डा । आगामी साउन २२ गते प्रदर्शनमा आउने फिल्म ‘हली’को टिजर सार्वजनिक गरिएको छ। एक मिनेट २८ सेकेण्ड लामो टिजरले नेपाली समाजमा अझै विद्यमान छाउपडी प्रथाको पीडादायी यथार्थलाई उठान गरेको छ।
टिजरमा महिनावारी भएकी एक बालिकालाई छाउगोठमा राखिएको र परिवारका सदस्य, विशेषगरी बुबाको अनुहारसमेत हेर्न नपाइने अमानवीय परम्परालाई चित्रण गरिएको छ। यस्तै विभेदपूर्ण व्यवहारविरुद्ध एक शिक्षित युवाले आवाज उठाउँदै समाजलाई नै चुनौती दिएको दृश्यले फिल्मको मुख्य कथावस्तुप्रति उत्सुकता बढाएको छ।
ओम प्रतिकको लेखन तथा निर्देशन रहेको फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छन्। साथै सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको अभिनय रहेको छ।
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा बनेको यस फिल्ममा पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानी रहेको छ। यसअघि सार्वजनिक गरिएको प्रमोसनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको विशेष प्रस्तुति समावेश छ।
राहुल राईको छायांकन, रामप्रसाद चौधरी तथा विपिन मल्लको सम्पादन रहेको फिल्ममा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ। सामाजिक सन्देश बोकेको ‘हली’ले छाउपडी जस्तो कुप्रथामाथि गम्भीर बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।