‘गौँथली’को गीत ‘आँखा भरी आँसु’ सार्वजनिक

फिल्मी फण्डा । आगामी साउन १ गते प्रदर्शनमा आउने चलचित्र ‘गौँथली’ को गीत ‘आँखा भरी आँसु’ सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहमा विवाहको वातावरण सिर्जना गर्दै गीत सार्वजनिक गरिएको हो।

गीतमा गायक थानेश्वर गौतम र गायिका शान्तिश्री परियार को स्वर रहेको छ। थानेश्वरकै संगीत तथा डा. भोला रिजाल को शब्द रहेको गीतले छोरीले विवाहपछि माइतीघर छोडेर पराइघर जाँदाको भावनात्मक पीडा प्रस्तुत गरेको छ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्का सहित अन्य कलाकारको अभिनय रहेको छ। सार्वजनिक कार्यक्रममा पनि उनीहरू बेहुला–बेहुलीको भेषमा उपस्थित भएका थिए।

डा. कपिल रिजाल निर्देशित चलचित्र ‘गौँथली’ मा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली लगायतका कलाकारको अभिनय रहेको छ।

डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरे को सहकार्य रहेको छ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सन को प्रस्तुतिमा बनेको चलचित्रका निर्माता सुमन गिरी र डा. कपिल रिजाल हुन्। चलचित्रको छायांकन हरि हुमागाईं तथा सम्पादन मिलन श्रेष्ठ ले गरेका छन्।

निर्माण पक्षका अनुसार ‘गौँथली’ ले परिवार, सम्बन्ध र सामाजिक मूल्यलाई केन्द्रमा राखेर कथा प्रस्तुत गर्नेछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech