फिल्मी फण्डा । चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ अभिनीत नयाँ म्युजिक भिडियो ‘बसौँ हजुर’ सार्वजनिक भएको छ। बसन्त थापा मगरको शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियोमा जोगिन्दर र मोडल सेजल कँफियाको रोमान्टिक केमेस्ट्री आकर्षक रूपमा प्रस्तुत गरिएको छ।
प्रायः हास्य भूमिकामार्फत दर्शकको मन जित्दै आएका जोगिन्दर यसपटक फरक शैलीमा देखिएका छन्। भिडियोले लामो समयपछि आफ्नो जन्मथलो फर्किएको एक युवाको अनुभूति, बाल्यकालका साथीहरूसँगको पुनर्मिलन र प्रेमिकासँगको आत्मीय सम्बन्धलाई भावनात्मक ढंगले चित्रण गरेको छ।
ग्रामीण परिवेशको सौन्दर्य, हरियाली खेतबारी, नदी किनार तथा नेपाली गाउँघरका मनमोहक दृश्यहरूले भिडियोलाई थप जीवन्त बनाएका छन्। जोगिन्दर र सेजलको स्वाभाविक अभिनयले गीतको भावलाई अझ प्रभावकारी बनाएको छ।
रामेश्वर हुमागाईं र शौखिन तिमल्सिनाको छायांकन रहेको भिडियोको सम्पादन शौखिन तिमल्सिनाले गरेका हुन्। पछिल्लो समय व्यस्त निर्देशकका रूपमा परिचित समन अधिकारीको निर्देशनमा तयार भएको भिडियो ‘रेस्क्यु क्रिएसन’को ब्यानरमा निर्माण गरिएको हो।
प्रेम, सम्झना र गाउँघरको मौलिकताको सुन्दर संयोजन प्रस्तुत गरिएको ‘बसौँ हजुर’ले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया प्राप्त गर्ने निर्माण पक्षको विश्वास छ।