‘सलल कर्णाली’ सार्वजनिक, प्रमोद खरेलले कर्णालीको सुन्दरता गीतमा उतारे

फिल्मी फण्डा । गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘सलल कर्णाली’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। कर्णाली प्रदेशको प्राकृतिक सौन्दर्य, संस्कृति र जीवनशैलीलाई समेटेर तयार गरिएको गीतले श्रोतामाझ विशेष आकर्षण बटुल्ने अपेक्षा गरिएको छ।

लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय प्रमोद खरेलले ‘सलल कर्णाली’ मार्फत कर्णालीको मौलिक पहिचानलाई संगीतका माध्यमबाट प्रस्तुत गरेका छन्। गीतमा कर्णालीका रमणीय दृश्य, स्थानीय संस्कृति तथा जनजीवनलाई जीवन्त रूपमा चित्रण गरिएको छ।

गीत तथा म्युजिक भिडियो निर्माणमा गाउँबेसी लजिस्टिक्सले सहयोग गरेको छ भने गायक प्रमोद खरेल हाल गाउँबेसी लजिस्टिक्सका ब्रान्ड एम्बेसडर समेत रहेका छन्।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै प्रमोद खरेलले नेपाली मौलिकता र सभ्यतालाई उजागर गर्ने उद्देश्यले कर्णाली पुगेर गीत तथा भिडियो निर्माण गरिएको बताए। उनले कर्णालीको सुन्दरता, त्यहाँको संस्कृति र जनजीवनलाई गीतमार्फत देश–विदेशका दर्शकमाझ पुर्‍याउने प्रयास गरिएको उल्लेख गरे।

सार्वजनिक भएको म्युजिक भिडियोमा कर्णालीका विभिन्न पर्यटकीय तथा सांस्कृतिक पक्षलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ। गीतले कर्णालीप्रतिको आकर्षण बढाउनुका साथै नेपाली लोकभावनालाई समेत उजागर गर्ने विश्वास गरिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech