ओसाकामा सुजन चापागाईं गुञ्जदै, ‘स्माइल्स म्युजिक टुर’ को तयारी पूरा
फिल्मी फण्डा
२०८३ जेठ १८,सोमवार ०१ : १२ AM
4k
Shares
ओसाका, जापान । नेपाली संगीतप्रेमीहरूको बहुप्रतीक्षित साँगीतिक भेटघाट ‘स्माइल्स म्युजिक टुर २०२६’ भोली ओसाकामा भव्य रूपमा आयोजना हुँदैछ। गनेशा प्रोडक्सनको व्यवस्थापनमा हुन लागेको यो विशेष सांगीतिक कार्यक्रमले जापानमा रहेका नेपाली समुदायलाई एउटै सांगीतिक धागोमा बाँध्ने अपेक्षा गरिएको छ।
जापानको प्रतिष्ठित सांगीतिक स्थल नाम्बा ह्याचमा भोली साँझदेखि गुञ्जिने उक्त कार्यक्रममा लोकप्रिय गायक सुजन चापागाईं आफ्नै चर्चित ब्याण्ड “द इन्फिनिटी” सहित स्टेजमा उत्रिँदैछन्। पछिल्ला वर्षहरूमा नेपाली आधुनिक संगीतलाई नयाँ उचाइमा पुर्याउँदै आएका चापागाईंका “घाम घाम”, “फूलथुंगे रानी”, “बादल बनाइदेऊ” र “गाला पुक्क” जस्ता गीतहरूले दर्शकलाई भावनात्मक रूपमा जोड्ने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ। टिकट बिक्रीदेखि लिएर प्राविधिक व्यवस्थापनसम्म सबै पक्ष व्यवस्थित रूपमा सम्पन्न गरिएको जनाइएको छ। दर्शकका लागि गेट भोली साँझ ५:०० बजे खुल्नेछ भने पहिलो चरणको कार्यक्रम ६:३० बजे सुरु हुनेछ। मुख्य सांगीतिक प्रस्तुति साँझ ७:०० बजेदेखि राति ९:०० बजेसम्म निरन्तर चल्नेछ।
विदेशमा रहेर पनि नेपाली संगीत र संस्कृतिप्रतिको लगावलाई अझ मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमलाई जापानस्थित नेपाली समुदायबीच सांस्कृतिक सम्बन्ध विस्तारको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। आयोजकले ओसाका मात्र नभई जापानभरका नेपाली संगीतप्रेमीलाई उपस्थित भई प्रत्यक्ष सांगीतिक अनुभव लिन आग्रह गरेको छ।
नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने प्रयासस्वरूप भएको यो कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीच आपसी आत्मीयता र सांस्कृतिक एकता अझ प्रगाढ बनाउने विश्वास लिइएको छ।