फिल्मी फण्डा । कलाकार बन्ने अठोट, संघर्ष र सपनाको यात्रालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र ‘आइ एम जीत बहादुर’ को ट्रेलर सार्वजनिक गरिएको छ। आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको ट्रेलर ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।
भारतीय बंगाली निर्देशक सुभेन्दु घोष को कथा तथा निर्देशन रहेको फिल्ममा अभिनेता जितु नेपाल मुख्य भूमिकामा छन्। कलाकार बन्ने सपना बोकेको एक साधारण व्यक्तिको संघर्ष, आत्मविश्वास र सफलताको यात्रालाई फिल्मले भावनात्मक ढंगले प्रस्तुत गरेको ट्रेलरमा देख्न सकिन्छ। जितु नेपालको वास्तविक जीवनसँग केही हदसम्म मेल खाने पात्रमार्फत सपनालाई साकार बनाउन गर्नुपर्ने संघर्षलाई चित्रण गरिएको छ।
फिल्ममा जितु नेपालको जोडीका रूपमा वर्षा राउत देखिएकी छन्। साथै प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, पवन खतिवडा, निरज नेपाल र अन्सु महर्जन लगायतका कलाकारहरूको अभिनय रहेको छ।
कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल हुन् भने राजन सिंखडा तथा दीपेन्द्र अधिकारी सह–निर्माताका रूपमा रहेका छन्। चलचित्रको छायांकन भारतीय सिनेमाटोग्राफर अरविन्दले गरेका हुन्।
तीन दशकभन्दा लामो कलाकारिता यात्रामा फरक पहिचान बनाएका जितु नेपालले ‘आइ एम जीत बहादुर’लाई एउटा भुइँमान्छेको सपना र संघर्षको कथा भएको बताएका छन्। ट्रेलरले पनि दर्शकलाई आफ्नो लक्ष्यप्रति दृढ रहन प्रेरित गर्ने सन्देश दिन खोजेको देखिन्छ।