वैवाहिक पीडा र आमाको संघर्ष बोकेको ‘गौँथली’को टिजर सार्वजनिक

फिल्मी फण्डा । फिल्म ‘गौँथली’को टिजर सार्वजनिक गरिएको छ । मुख्य पात्रहरूको जीवन संघर्षलाई केन्द्रमा राखेर तयार पारिएको टिजरले फिल्मको कथावस्तुबारे स्पष्ट संकेत दिएको छ ।

टिजरमा आमाले छोरीको घर बसाल्न गरेको प्रयास, वैवाहिक जीवनमा छोरीले भोग्नुपरेका पीडा तथा परिवारभित्रको असहज सम्बन्धलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ । पढ्ने रहर हुँदाहुँदै कम उमेरमै विवाह गर्न बाध्य भएकी युवतीले सोझो र इमान्दार ठानेको श्रीमान् नै गलत सावित भएपछि भोग्नुपरेको मानसिक र पारिवारिक तनाव टिजरको मुख्य विषय बनेको छ।

जन्म दिने आमाको काख छोडेर कर्म दिने घर पुगेकी बुहारीले सहनुपरेको व्यवहार, श्रीमान्को असामान्य स्वभाव र परिवारभित्रको कठोर वातावरणले टिजरलाई भावुक बनाएको छ । एउटा निर्णय गलत सावित हुँदा जीवन नै कसरी तहसनहस हुन सक्छ भन्ने सन्देश टिजरले दिएको छ ।

फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन् । अरुणको फरक स्वभावको पात्र र कलिलो उमेरमै विवाह गरेकी सिम्रनको जीवन संघर्षले दर्शकलाई भावुक बनाउने देखिन्छ । फिल्म आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

डा. कपिल रिजाल निर्देशित फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको पनि अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।

डा. भोला रिजालको कथामा बनेको फिल्मको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेको सहकार्य रहेको छ । निर्माण पक्षका अनुसार ‘गौँथली’ले घर, परिवार र आपसी सम्बन्धको प्रतीकात्मक अर्थ बोकेको छ ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा रहेका छन् ।

फिल्ममा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको छ । एलिस कार्कीको पाश्र्व संगीत रहेको फिल्मलाई हरि हुमागाईंले छायांकन गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् ।

फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्नेछन् । डिजिटल पार्टनरका रूपमा ‘ओएसआर डिजिटल’ रहेको छ।

उल्लेखनीय रूपमा, ‘गौँथली’ नाममा डा. भोला रिजालले दुई दशकअघि निर्माण गरेको फिल्मलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ । अहिले सोही नाममा उनका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ फिल्म निर्देशन गरेका हुन् ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech