‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

फिल्मी फण्डा । अमेरिकामा लामो समयदेखि बसोबास गर्दै आएकी स्रष्टा तथा गीतकार रिमा श्रेष्ठ नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सिर्जनशील यात्रामा सक्रिय नाम हो। प्रवासको व्यस्त जीवन, पेशागत जिम्मेवारी र समयको चापबीच पनि उनले कला, साहित्य र संगीतप्रतिको आफ्नो प्रेमलाई कहिल्यै ओझेल पर्न दिइनन्। पेशाले आइटी इन्जिनियर भए पनि उनको मन सदैव शब्द, भावना र संगीतको संसारमै रमाइरह्यो।

रिमा श्रेष्ठका सिर्जनामा प्रेम, बिछोड, आत्मीयता, जीवनका विविध अनुभूति तथा समाजमा सकारात्मक ऊर्जा फैलाउने भावनात्मक पक्षहरू गहिराइका साथ अभिव्यक्त हुने गरेका छन्। उनका शब्दहरू केवल गीतमा सीमित छैनन्, ती जीवनका अनुभूतिहरूका प्रतिबिम्ब जस्तै लाग्छन्। त्यसैले उनका सिर्जनाले स्रोताको मन छोइरहन्छन्।

उनले नेपाली संगीत क्षेत्रका चर्चित तथा लोकप्रिय कलाकारहरूसँग सहकार्य गरिसकेकी छिन्। अन्जु पन्त, स्वरूपराज आचार्य, प्रमोद खरेल, प्राश्ना शाक्य, मेनुका पौडेल, अस्मिता अधिकारी, पुष्पन प्रधान, राजेश पायल राई, रेवती राई तथा किरण गजमेरलगायतका कलाकारहरूको स्वरमा उनका शब्दहरूले जीवन पाएका छन्। यी सहकार्यहरूले रिमा श्रेष्ठलाई नेपाली सांगीतिक क्षेत्रमा स्थापित र भरोसायोग्य गीतकारका रूपमा चिनाएको छ।

उनले आफ्ना सिर्जनाहरू ‘रिमा श्रेष्ठ वर्ल्ड’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गर्दै आएकी छिन्। प्रवासमा रहेर पनि नेपाली भाषा, कला, संस्कृति र मौलिक भेषभूषाप्रतिको उनको माया र सम्मान उत्तिकै प्रगाढ देखिन्छ। नेपाली पहिचानलाई जगेर्ना गर्ने उनको प्रयास केवल गीत–संगीतमा मात्र सीमित छैन, सामाजिक र सांस्कृतिक गतिविधिमा समेत उत्तिकै सक्रिय देखिन्छ।

विगत ६ वर्षदेखि Kansas City Nepalese Society मा सल्लाहकारको भूमिकामा रहेर उनले नेपाली समुदायलाई एकताबद्ध गर्ने महत्वपूर्ण कार्य गर्दै आएकी छिन्। नेपाली नयाँ वर्ष, तीज, होली, दशैं, देउसी–भैलोजस्ता सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै संस्थाले नेपाली कला र संस्कृतिको प्रवर्द्धन गरिरहेको छ, जसमा रिमा श्रेष्ठको सक्रिय योगदान उल्लेखनीय छ। साथै, नेपालका विभिन्न राष्ट्रिय कलाकारहरूको सहभागितामा आयोजना हुने सांगीतिक कार्यक्रमहरू मार्फत उनले नेपाली संगीतलाई प्रवासमा पनि जीवन्त बनाइरहेकी छिन्।

यसै क्रममा रिमा श्रेष्ठको नयाँ सांगीतिक कोसेलील " बलमा माइचा हाकुमा दाइचा " पुनः दर्शक तथा स्रोतामाझ विशेष चर्चा बटुलिरहेको छ। गीतमा रिमा श्रेष्ठकै शब्द सिर्जना रहेको छ भने संगीत सञ्जीत श्रेष्ठले भरेका छन्। प्राश्ना शाक्य र राज सायमीको सुमधुर स्वरले गीतलाई अझ भावपूर्ण बनाएको छ।

गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ सञ्जाल भण्डारीले गरेका हुन् भने रेकर्डिङ Gain Studio मा सम्पन्न गरिएको हो। भिडियोमा सुदित श्रेष्ठ र सृष्टि महर्जनको आकर्षक अभिनय देख्न सकिन्छ भने निर्माणको जिम्मेवारी कुशल गुरुङले सम्हालेका छन्।

भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन् भने उत्सव दाहालको उत्कृष्ट छायांकनले भिडियोमा विशेष सौन्दर्य थपेको छ। सम्पादन बिजेश पौडेलले गरेका छन् भने कोरियोग्राफी रोशन विश्वकर्माको रहेको छ। मेकअप आर्टिस्टका रूपमा सृष्टि थापा मगर रहेकी छन् भने प्रोडक्सन व्यवस्थापन दीपेन गौतम (माइकल) ले गरेका छन्। भिडियोको पोस्ट–प्रोडक्सन कार्य लाटोकोसेरो फिल्म्सले सम्पन्न गरेको हो।

शब्दमा संवेदना, सिर्जनामा आत्मीयता र संस्कृतिप्रतिको अगाध प्रेम बोकेकी रिमा श्रेष्ठ आज प्रवासमा रहेर पनि नेपाली संगीत र साहित्यको क्षेत्रमा प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित हुँदै गएकी छिन्। उनका सिर्जनाहरूले नेपालीपनको सुगन्ध बोकेर संसारभर छरिएका नेपाली मनहरूलाई एक सूत्रमा बाँध्ने काम गरिरहेका छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech