‘आइ एम जीतबहादुर’को शीर्ष गीत सार्वजनिक

फिल्मी फण्डा। अभिनेता जितु नेपाल निर्मित फिल्म ‘आइ एम जीतबहादुर’को शीर्ष गीत सार्वजनिक गरिएको छ । मंगलबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गीतमा भारतीय गायक कैलाश खेरको स्वर छ ।

गीतमा जितु नेपाल र राज सिंह सिधुको शब्द तथा बब एसएनको संगीत रहेको छ । भिडियोमा कलाकार बन्न गाउँबाट सहर आएका पात्रको संघर्षलाई देखाइएको छ ।

भिडियोमा जितु नेपालसँगै वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री र देशभक्त खनाल लगायत कलाकारलाई पनि देख्न सकिन्छ ।

असार ५ गते प्रदर्शन हुने फिल्मलाई भारतीय निर्देशक सुभेन्दु घोषले निर्देशन गरेका हुन् । केही समयअघि सार्वजनिक टिजरले पनि चर्चा पाएको थियो।

फिल्ममा पवन खतिवडा, सारा शर्मा, अंशु महर्जन, राजन सिंखडा, निरज नेपाल र रोहित कार्कीलगायत कलाकारको अभिनय छ । कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल हुन् ।

राजन सिंखडा र दीपेन्द्र अधिकारी सह–निर्माता रहेको फिल्मको छायांकन भारतीय छायांकार अरविन्दले गरेका हुन् । फिल्मको पोस्ट–प्रोडक्सनको काम भारतमै गरिएको छ ।

 
 
 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech