काठमाडौं । फिल्म ‘मितज्यू’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।
सार्वजनिक ट्रेलरमा नेपाली समाजको मौलिक ‘मितेरी साइनो’ र ग्रामीण परिवेशको कथा देखाइएको छ । फिल्ममा दयाहाङ राई र सौगात मल्ल गाउँमा गाडी चलाउने चालकको भूमिकामा छन् । उनीहरूबीचको मित्रता, प्रतिस्पर्धा र सम्बन्धमा आउने उतारचढावलाई ट्रेलरमा देखाइएको छ ।
फिल्मबाट तेरिया फौजा मगरले अभिनेत्रीको रूपमा डेब्यु गरेकी छन् । ट्रेलरमा उनको संवाद र ग्रामीण लवजलाई विशेष प्राथमिकता दिइएको छ।
फिल्ममा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा र सुवर्ण थापाको पनि अभिनय छ । अनिल बुढा मगर निर्देशित फिल्मका निर्माता जनक घर्ती मगर हुन् ।
लोकेश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायांकन र श्रीकृष्ण बम मल्लको संगीत रहेको फिल्म जेठ ८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।
निर्माण टिमका अनुसार फिल्मको ओभरसिज राइट्स हङकङ, जापान, दक्षिण कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा प्रदर्शनअघि नै बिक्री भइसकेको छ । फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ भने आरआर फिल्म्सले वितरण गर्नेछ ।