‘लालीबजार’को ‘मै राम्री छु त नी’ गीतको अंश सार्वजनिक
फिल्मी फण्डा
२०८३ बैशाख ११,शुक्रवार ११ : १७ PM
178
Shares
फिल्मी फण्डा। आगामी वैशाख १८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लालीबजार’को तेस्रो गीत ‘मै राम्री छु त नी’को छोटो अंश सार्वजनिक गरिएको छ । निर्माण कम्पनी षट्कोण आर्ट्सले आफ्नो युट्युब च्यानलमार्फत गीतको झलक सार्वजनिक गरेको हो ।
गीतमा दीपिका बयम्बू मगरको स्वर रहेको छ भने कोरसमा रन्जिता विश्वकर्मा, बिन्दु बिसी, सुनिता सुनार, मनोज बिक र गोविन्द अनेकको स्वर समावेश छ । प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतलाई प्रदीप लामाले कोरियोग्राफी गरेका छन् ।
सार्वजनिक भिडियोमा स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, मुकुन्द श्रेष्ठ र जानकी कडायत लगायत कलाकार फिचर्ड छन् । गीतमा नारी सुन्दरताको प्रस्तुति गरिएको छ र स्वस्तिमा केन्द्रमा देखिएकी छन् । क्लिप सामाजिक सञ्जालमा प्रयोग हुन थालेको छ ।
गीतको पूर्ण संस्करण फिल्मसँगै वैशाख १८ गतेदेखि हलमा हेर्न पाइने निर्माण पक्षले जनाएको छ । यसअघि सार्वजनिक ट्रेलरले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ र युट्युबको मुभी चार्टमा ट्रेन्डिङमा छ ।
आमा–छोरीको कथामा आधारित फिल्मले बादी समुदायमा रहेको ‘नाथिया’ जस्तो कुप्रथालाई उठान गरेको छ । फिल्ममा स्वस्तिमा खड्का आमाको भूमिकामा देखिएकी छन् ।
यम थापाको निर्देशनमा बनेको फिल्मको कथा तथा पटकथा यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । षट्कोण आर्ट्सको निर्माणमा बनेको फिल्ममा विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गरेका छन् ।
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । बर्दियाको राजापुरमा छायांकन गरिएको फिल्मका निर्माता म्याक्स दीपेश खत्री र रवीन्द्र सिंह बानियाँ हुन् भने कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् ।
फिल्ममा प्रकाश सपुत, खेम सेन्चुरी र जयन जे वाइबाको संगीत रहेको छ ।