फिल्मी फण्डा। आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’को पहिलो गीत ‘गैराघरे काँइली’ सार्वजनिक गरिएको छ। निर्माण टिमले आइतबार गीत सार्वजनिक गर्दै प्रचारप्रसारलाई अघि बढाएको हो।
सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरको नृत्य देख्न सकिन्छ। लोकलयमा आधारित गीतमा तीनै कलाकारको नाच सुहाउँदो देखिएको छ।
गीतमा श्रीकृष्ण बम मल्ल र मेलिना राईको स्वर रहेको छ भने शब्द र संगीत पनि मल्लकै रहेको छ। एरेन्ज श्याम श्वेत रसाइलीले गरेका हुन् भने कोरियोग्राफी मिङ्मा डि लेप्चाको छ।
निर्माण पक्षले गीतलाई दर्शक–स्रोताले मन पराउने विश्वास व्यक्त गरेको छ। निर्माता जनक घर्ती मगरले फिल्मको कथाअनुसार नै गीत समावेश गरिएको बताएका छन्।
ग्रामीण परिवेश र पहाडी पृष्ठभूमिमा आधारित सामाजिक कथामा बनेको फिल्मलाई अनिल बुढा मगरले निर्देशन गरेका हुन्। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने लगायत कलाकारहरूको अभिनय रहेको छ। तेरिया मगरको यो डेब्यु फिल्म हो।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको सम्पादन लोकेश बज्राचार्यले गरेका छन् भने छायांकन शिशिर बिशंखेले गरेका छन्। मुख्य सहायक निर्देशक फिरोज खड्का हुन् भने सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई रहेका छन्।
फिल्ममा द्वन्द्व निर्देशन प्रभात विष्टको छ भने साउन्ड डिजाइन नवीन श्रेष्ठले गरेका छन्। फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।