फिल्मी फण्डा। फिल्म ‘आ बाट आमा’को गीत ‘जाँदैछु नौ डाँडा काटेर’ले युट्युबमा सार्वजनिक भएको दुई दिनमै २३ लाखभन्दा बढी भ्युज पाएको छ। माघ १ गते सार्वजनिक गीतले यो समाचार तयार पार्दासम्म २३ लाख १५ हजारभन्दा बढी भ्युज बटुलेको छ।
पछिल्लो समय फिल्मका गीतले अपेक्षित दर्शक पाउन नसकिरहेको अवस्थामा यो गीतले छोटो समयमै उल्लेख्य दर्शक तानेको देखिन्छ। गीतलाई ७६ हजारभन्दा बढीले मन पराएका छन् भने करिब २३ सय प्रतिक्रिया आएका छन्। सार्वजनिक भएको एक घण्टामै तीन लाखभन्दा बढी पटक हेरिएको थियो।
गीतले रोजगारीका कारण मन नलागी नलागी परदेशिन बाध्य नेपालीको यथार्थ प्रस्तुत गर्छ। भिडियोमा अभिनेता पल शाह, विपना थापा र प्रदीप रावतको अभिनयले उक्त भावलाई प्रभावकारी रूपमा उजागर गरेको छ।
फिल्मका निर्देशक चन्द्र पन्तका अनुसार समसामयिक सामाजिक अवस्थालाई कथाको मुख्य आधार बनाइएको हो। ‘अहिले देशमा भइरहेको यथार्थलाई नै फिल्मको विषय बनाएका छौं,’ उनले भने, ‘त्यही भाव गीतको भिडियोमा पनि देखिन्छ।’
किरण परियार र शान्तीश्री परियारको स्वरमा रहेको गीतमा शब्द तथा संगीत अभि सुनारको छ। भिडियोमा पल शाह, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती र सिम्रन पन्तलगायत कलाकारको अभिनय छ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘आ बाट आमा’ माघ १६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।