फिल्मी फण्डा। अभिनेता प्रदीप खड्का स्टारर नेपाली साइन्स-फिक्सन ड्रामा फिल्म 'एक्लो' (Eklo) को टिजर युट्युबमार्फत सार्वजनिक भएको छ।
सार्वजनिक टिजरले फिल्मको कथावस्तु, चरित्र चित्रण, मनोविज्ञान र मूल थिमबारे संक्षिप्त रूपमा जानकारी दिएको छ। यो फिल्म यसअघि नै अन्तर्राष्ट्रिय कान्स मार्केट मा छनोट भइसकेको छ।
नेपाल र बेलायतको संयुक्त सहकार्यमा निर्माण भएको यस फिल्मले भविष्यको एक काल्पनिक कथा भन्छ, जहाँ एक खतरनाक भाइरसका कारण सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्न बाध्य हुन्छन्।
सो घटनाको ६० वर्षपछि बेलायती अन्तरीक्षयात्री ज्याक (जेमी बेकन) आफ्ना साझेदारसँगै नेपालको हिमालय क्षेत्रमा क्रास-ल्यान्डिङ गर्छन्। वरिपरिको खोजी गर्ने क्रममा उनीहरूले पहाडबीचको गुफाभित्र लुकेको एक सहर पत्ता लगाउँछन्। त्यहाँ उनीहरूले एक रहस्यमय व्यक्तित्व (प्रदीप खड्का) लाई भेट्छन्, जसलाई हिमालय क्षेत्रको पौराणिक संरक्षकको रूपमा चित्रण गरिएको छ।
फिल्मको छायांकन नेपालको मुस्ताङ र काभ्रे लगायतका रमणीय थलोहरूमा गरिएको छ।
फिल्ममा मुख्य कलाकार प्रदीप खड्कासँगै दीया पुन, विजय लामा, कविता नेपाली, जेमी बेकन, बेनिशा हमाल लगायतको पनि अभिनय रहेको छ।
साइन्स-फिक्सन जनराको यो फिल्म आगामी १ जनवरी, २०२६ अर्थात् आउँदो पौष १७ गते बाट देशभर प्रदर्शनमा आउने जनाइएको छ।