फिल्मी फण्डा । आज शुक्रबार बाट २ नयाँ फिल्महरु बक्स अफिसमा हाजिर लगाउँदै छन् । फिल्म जय हो र महानगर एक साथ हलहरूमा लाग्दै छन् । फिल्म जय हो ले तुलनात्मक रुपमा देशभर धेरै शो पाएको छ, विशेष गरेर फिल्मले सिंगल स्क्रिन हलहरूमा राम्रो स्थान पाएको छ । उता फिल्म महानगर भने मल्टिप्लेक्स लक्षित फिल्म भएकोले सिंगल स्क्रिनहरुमा ठिकठाक शोहरु पाएको छ ।
बरिष्ठ निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म जय हो मा सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, अर्पण थापा लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । गत बुधबार फिल्मको भब्य प्रिमियर शो आयोजना गरीएको थियो जहाँ फिल्मको छायांकन पक्षलाई निकै रुचाइएको थियो । फिल्मलाई सौरभ लामाले खिचेका हुन् । डिक बहादुर लामाको निर्देशनमा बनेको फिल्मलाई सलोन सलिना फिल्मस् ले निर्माण गरेको हो ।
यता महानगर भित्रको कथालाई चित्रण गरीएको फिल्म महानगरमा कर्मा शाक्य र मेनुका प्रधानको मुख्य भुमिका रहेको छ । फिल्म विशेष गरेर सहरी पुस्तालाई लक्षित गरी निर्माण गरीएको हो । मोहन राई को लेखन तथा निर्देशन रहेको फिल्मलाई ओम कुमारी चेम्जोङ, दिवाकर श्रेष्ठ, रागिनी लामिछाने, प्रकाश ढुंगाना लगायतले निर्माण गरेका हुन् ।