गायक प्रताप दास र दुर्गा खरेलको स्वरमा ‘ओइ नक्कले’ सार्वजनिक

फिल्मी फण्डा। गायक प्रताप दास र गायिका दुर्गा खरेलको स्वरमा रहेको नयाँ गीत ‘ओइ नक्कले’ बुधबार युट्युबमार्फत सार्वजनिक भएको छ। सुमन पण्डित ‘बैरागी’को शब्द र अर्जुन पोखरेलको संगीतमा तयार भएको गीतले त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरेको छ।

भिडियोमा अभिनेता सुशान्त कार्की, अभिनेत्री प्रियंका कार्की र कबिता नेपालीको अभिनय देख्न सकिन्छ। दुई युवती र एक युवकबीचको प्रेम, मनोभावना र द्वन्द्वलाई गीतमा भावनात्मक रूपमा चित्रण गरिएको छ।

गीतको निर्देशन माइकल चन्दले गरेका छन् भने उत्सव दाहालले छायांकन गरेका हुन्। कोरियोग्राफी सञ्जय विश्वकर्माले गरेका छन्। भिडियोलाई आकर्षक लोकेशन, गतिशील फ्रेम र कलाकारहरूको सशक्त अभिनयले थप प्रभावशाली बनाएको छ।

हाल अष्ट्रेलियामा बसोबास गरिरहेका अभिनेता सुशान्त कार्की यस भिडियोका लागि विशेष रूपमा नेपाल आएका थिए। झन्डै ६ महिना अघि छायांकन सम्पन्न भए पनि भिडियो हाल मात्र सार्वजनिक गरिएको हो।

‘द डिभाइन म्युजिक’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शकको ध्यान खिच्न सफल भएको छ। दर्शकहरूले गीतको संगीत, शब्द, भिडियोको प्रस्तुति र कलाकारहरूको अभिनयको प्रशंसा गरेका छन्।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech