‘यानीमाया’को छायांकनसँगै ६ देशमा बिक्री भयो प्रदर्शन अधिकार

फिल्मी फण्डा। अभिनेता पल शाहको निर्माणमा छायांकन भइरहेको चलचित्र ‘यानीमाया’को प्रदर्शन अधिकार ६ देशमा बिक्री भएको छ। निर्माण पक्षका अनुसार चलचित्रको हङकङ, जापान, दक्षिण कोरिया, मलेसिया, कतार र थाइल्याण्डका लागि प्रदर्शन अधिकार बिक्री भएको हो।

अन्य देशमा पनि चलचित्र प्रदर्शनका लागि कुराकानी भइरहेको र ती देशको अधिकारसमेत चाँडै टुंगो लाग्ने निर्माण पक्षले जनाएको छ।

चलचित्र ‘मोहर’पछि विदेशी बजारमा पल शाहको लोकप्रियता बढेको निर्माण पक्षको दाबी छ। पल अभिनीत ‘आ बाट आमा’ले पनि विदेशी बजारमा राम्रो व्यापार गरेको थियो। ‘यानीमाया’ घोषणा भएदेखि नै चर्चामा रहेको चलचित्र हो।

४० दिनको छायांकन तालिका बनाएर चलचित्रको काम भइरहेको छ। ओम प्रतिकको लेखन तथा निर्देशनमा निर्माण भइरहेको चलचित्रमा पल शाह, अञ्जना मगर, शिशिर वाङ्देल, गजित विष्ट, लोकेन्द्र लेखक, अङ्कित खड्का, राज थापा, कर्मा लामा, संगीता थापा, विशाल पुलामी र नारायणी खत्रीलगायत कलाकारको अभिनय रहनेछ।

चलचित्रमा शान्न अधिकारी र मोनिका भण्डारी बाल कलाकारका रूपमा छन्। चन्द्र ज्योती आले र पल शाहको लगानीमा निर्माण भइरहेको चलचित्रमा नवराज उप्रेतीको डीओपी, कुमार महर्जनको एक्सन, गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन तथा भूपेन्द्र अधिकारीको सम्पादन रहनेछ।

विशाल कार्कीको निर्माण व्यवस्थापन रहेको चलचित्रमा रेनिश फागोको कलर सम्पादन, राजु लामा र सञ्जु ढकालको मेकअप तथा हेयर र आशिष पौडेलको पोशाक डिजाइन रहनेछ।

सामाजिक प्रेमकथामा आधारित चलचित्र ‘यानीमाया’ फागुन ७ गतेदेखि प्रदर्शनमा आउने घोषणा यसअघि नै भइसकेको छ। काठमाडौंको गुन्डुमा छायांकन सकिएपछि निर्माण टोली पर्वत जाने तयारीमा रहेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech