फिल्मी फण्डा। हास्यव्यङ्ग्यात्मक नेपाली कथानक चलचित्र ‘तिरिमिरी झ्याइँ’को छायांकन सम्पन्न भएको छ। ३५ दिन लामो कार्यतालिकापछि चलचित्रको सम्पूर्ण छायांकन सकिएको हो।
सोमबार कोशी प्रदेशअन्तर्गत सुनसरीको बराहक्षेत्रमा चलचित्रको अन्तिम दृश्य खिचिएको निर्माण पक्षले जनाएको छ। निर्माता बोगटीले छायांकन सकिएसँगै अब चलचित्रको सम्पादनको काम सुरु गरिने जानकारी दिए। चलचित्र यसै वर्ष प्रदर्शनमा ल्याउने तयारी रहेको उनले बताए।
आभास अधिकारीको कथा तथा अवधारणा र समीरको निर्देशनमा निर्माण भइरहेको चलचित्र पारिवारिक, मनोरञ्जनात्मक तथा सामाजिक कथामा आधारित छ। चलचित्रले समकालीन समाजका विविध रमाइला तथा ठट्यौली पक्षलाई रोचक शैलीमा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।
होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्रमार्फत ‘दले दाई’ उपनामले चर्चित कमेडियन सुमन कोइरालाले ठूलो पर्दामा डेब्यु गर्दैछन्। चलचित्रमा वरिष्ठ अभिनेता धिरेन शाक्यसहित आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जयराम ढकाल, राजश्री थापा र घनश्याम जोशीलगायत कलाकारको अभिनय रहनेछ।
चलचित्रमा भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, पुष्कर खतिवडा, दिनेश श्रेष्ठ र अनिल शर्मा सह–निर्माताका रूपमा रहेका छन्।
विशाल कक्षपतिको छायांकन रहेको चलचित्रमा अभिषेक कार्कीले संगीत दिएका छन्। गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा पटकथा तथा संवाद लेखेका हुन्।
चलचित्रमा सियोन श्रेष्ठको कोरियोग्राफी तथा रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को पोस्टर तथा पब्लिसिटी डिजाइन रहनेछ।