काठमाडौं । गीतकार विनोद अधिकारीको नयाँ गीत ‘बैमानी’ सार्वजनिक भएको छ । गायक शिव परियारको स्वरमा रहेको ‘बैमानी’ गीतमा विपिन आचार्यको संगीत तथा संगीत संयोजन रहेको छ । बहुआयामिक ब्याक्तित्व गीतकार बिनोद अधिकारीका तीनवटा गीतहरु एम.बी.म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएका छन् भने दुईवटा गीतको छायांकन समेत भैसकेको छ ।
‘बैमानी’ गीतको म्युजिक भिडियोको छायाँकन काठमाडौ लगायत ललितपुरका विभिन्न रमणीय ठाउँहरुमा भएको छ । भिडियोमा गीतकार बिनोद अधिकारी मुख्य भूमिकामा देखिएका छन् । उनको साथमा अहिलेकी चर्चित अभिनेत्री आयुष्मा कार्की र रोबिन पोख्रेलले अभिनय गरेका छन् ।
भिडियोलाई संगीतकार बिपिन आचार्यले निर्देशन गरेका छन् । भिडियोको छायाँकन दुर्गा प्रसाद पौडेलले गरेका हुन् भने भिडियोको सम्पादन बिकास ज्ञवालीले गरेका हुन्। ‘बैमानी’ गीतको भाव भने चोखो मायामा हुने धोका र बिश्वासघातमा आधारित वियोगान्त कथा रहेको छ ।
नेपालका विभिन्न कलेजहरुमा अध्यापन गराउनुका साथै +२ देखि बीबीएससम्मका एकाउन्टिङ बुक सिरिजका लेखक समेत रहेका बिनोद अधिकारी बिगत सात बर्षदेखि अस्ट्रेलियाको डार्बिनमा श्रीमती सीता पन्त अधिकारी र दुई छोराहरु शुभान्जन र विमोचन अधिकारीका साथमा बस्दै आइरहेका छन् ।
सानैदेखि गीत संगीत र साहित्य र समाज सेवामा रुचि भएका बिनोदका कथा कविता अनि लेखहरु विभिन्न प्रतिष्ठित पत्रपत्रिकामा छापिए पनि गीत भने रेकर्डिङ गर्ने मेसो नमिलेको तर अहिले आएर आफ्नै जन्मभुमि भक्तपुरका विभिन्न ठाउँहरु समेटेको गीतमा आफ्नै स्वर समेत दिन भ्याएका छन् ।