फिल्मी फण्डा। पछिल्लो समय फिल्म निर्माता र निर्देशकहरूको रोजाइमा पर्न थालेका अभिनेता दिव्य देव चैत २९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पिताम्बर’मा खलनायकका रूपमा देखिने भएका छन्।
फिल्ममा उनले ‘राहुल’ नामक क्रुर खलनायकको भूमिका निर्वाह गरेका छन्। ‘मैले यसअघि यस्तो स्तरको कमर्सियल फिल्ममा काम गरेको थिइनँ,’ दिव्य देव भन्छन्, ‘फिल्ममा मेरो लुक्स, बोली, पहिरन सबै तराईको परिवेशअनुसार बनाइएको छ। मेरो पात्रको क्रियाकलापले मुख्य पात्रको जीवनमा असर पार्छ।’
नवलपरासीको परासी वरपरको परिवेशमा छायांकन गरिएको फिल्ममा दिव्य देव एक स्थानिय खलनायकका रूपमा प्रस्तुत भएका छन्। ‘मैले चरित्र किन यस्तो भयो भन्ने प्रश्न निर्देशकलाई सोधेँ, आफूले बुझ्दै पात्र निर्माण गरेँ,’ उनले भने।
फिल्मकी निर्देशक कृषा चौलागाईंको सहयोगले आफूले भूमिका अझ स्पष्ट रूपमा उतार्न सफल भएको उनी बताउँछन्। ‘कृषाजीले क्यारेक्टर बुझाउन सजिलो भाषा प्रयोग गर्नुभयो। सेटमा उहाँको नेतृत्व क्षमताले पनि प्रभावित गर्यो,’ दिव्य देवले सुनाए।
फिल्ममा आफूले निर्वाह गरेको खलनायक पात्र दर्शकका लागि नयाँ हुने उनको दाबी छ। ‘म फरक खालका पात्रमा काम गर्न चाहन्छु। यसपटक दर्शकले नयाँ दिव्य देव देख्नेछन्,’ उनले भने।