'के घर के डेरा : घर नं २'का ३ पोस्टर सार्वजनिक, रिलिजमिति पनि फेरियो

फिल्मी फण्डा। दीपेन्द्र के खनाल निर्देशित 'के घर के डेरा : घर नं २'ले एकसाथ ३ पोस्टर रिलिज गरेको छ । ३ पोस्टर रिलिज गर्दै सिनेमाले रिलिजमिति समेत परिवर्तन गरेको नयाँ जानकारी दिएको छ ।
यसअघि जेठ ९ गते रिलिज हुने भनिएको सिनेमा अब एक साता पहिले अर्थात जेठ २ मा रिलिज हुने भएको छ ।
 
आज सार्वजनिक गरिएका तीन पोस्टरमध्ये एकमा निश्चल बस्नेतलाई सोलो रुपमा प्रस्तुत गरिएको छ जहाँ निश्चललाई कतै पुग्न हतार भएझै गरी कुदिरहेको अवस्थामा देख्नसकिन्छ । यस पोस्टरमा उनको अनुहारले उनी तनावपूर्ण अवस्था रहेको देखाउँछ ।
 
यसैगरी दोश्रो पोस्टरमा अर्का अभिनेता खगेन्द्र लामिछाने तथा अभिनेत्री उपासना सिंह ठकुरीलाई रोमान्टिक शैलीमा प्रस्तुग गरिएको छ।
 
पोस्टरमा झोला भिरेकी तथा हातमा केही सामान बोकेर हिँडिरहेकी उपासनालाई अभिनेता खगेन्द्रले साइकल डोराउँदै, मुस्कुराउँदै पछ्यारहेको देख्न सकिन्छ ।
 
यसैगरी तेश्रो पोस्टरमा सिनेमाका अधिकाशं मुख्य पात्रहरुलाई प्रस्तुत गरिएको छ । 
सार्वजनिक ३ मध्येको सबैभन्दा शक्तिशाली यो पोस्टरले सिनेमाको नाम अनुसारको बिम्बमा आफूलाई प्रस्तुत गरेको छ । यस पोस्टरमा पात्रहरूलाई तीन तले घरको तल्लाका विभिन्न कोठाको झ्यालमा भएझैं गरी डेरा जीन्दगीमा उनीहरुको मनोदशामा प्रस्तुत गरेको छ ।
जहाँ एकातर्फका कलाकार कोही गम्भिर भाव त कोही चिन्तित मुद्रामा छन् भने अर्को तर्फको भागमा खुशी मुद्रामा सिनेमाका पात्रहरुलाई देख्न सकिन्छ । 
 
यस पोस्टरमा अभिनेता आर्यन सिग्देल, खगेनद्र लामिछाने तथा अभिनेत्री केकी अधिकारीलाई गम्भिर, चिन्ताग्रस्त र गम्भिर भावमा देख्न सकिन्छ भने अर्को तर्फ निश्चललाई खुशी अवस्थामा, अभिनेता प्रकाश घिमिरेलाई उपसनासँग खुशी मुडमा र श्रृजना नापितलाई खुशी भइरहेको देख्न सकिन्छ ।
 
सिनेमालाई ‘कर्नाली ब्लुज’, ‘एक्लो’, ‘फिरफिरे’ जस्ता उपन्यासका लेखक बुद्धि सागरले लेखेका हुन् । यो उनी लिखित पहिलो रिलिज हुनेछ ।
यसैगरी कृष्णबहादुर थापाको फिल्ममा छायांकन रहेको  सिनेमामा एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रियशनको प्रस्तुतिमा निर्माण भएको सिनेमा हो ।
 
नकिमउद्दिन, शरद श्रेष्ठ तथा किरण महर्जनको निर्माता रहेको सिनेमामा युवराज कार्की कार्यकारी निर्माताका रुपमा रहेका छन् ।
सिनेमामा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरेलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech