पूर्वी नेपालमा ‘अञ्जिला’ को धूम, एन्जिला दर्शकमाझ

फिल्मी फण्डा। नेपाली चलचित्र ‘अञ्जिला’ फागुन २९ गते फागु पूर्णिमाको अवसरमा प्रदर्शनमा आएपछि सुपरहिट बन्दैछ। चलचित्रकी प्रमुख अभिनेत्री एन्जिला तुम्बापो सुब्बा अहिले पूर्वी नेपालका विभिन्न हलमा पुगेर दर्शकहरूसँग प्रत्यक्ष संवाद गरिरहेकी छिन्।

शुक्रबार ग्रिसबाट काठमाडौं आइपुगेकी एन्जिलाले छाया सेन्टरस्थित क्युएफएक्स सिनेमाजमा दर्शकहरूसँग भेट गरेपछि इटहरीको इलाइट सिनेमामा समेत सहभागिता जनाइन्। त्यसपछि उनले विराटनगर, धरान, बिर्तामोड र दमकका हलहरूमा पनि दर्शकमाझ उपस्थिति जनाइन्।

धरानको फ्रेन्ड्स सिनेमाजमा उनलाई लिम्बू संस्कृतिको च्याब्रुङ नाच द्वारा भव्य स्वागत गरियो। उनले त्यहाँ एन्फा एकेडेमी का विद्यार्थीहरूसँग भेटघाट गरिन् र गोधुली फुटबल कप मा समेत सहभागिता जनाइन्। धरान फुटबल क्लब ले एन्जिला र चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ लाई विशेष सम्मान प्रदान गर्यो।

चलचित्र ‘अञ्जिला’ का निर्देशक मिलन चाम्स का अनुसार, धरान नेपाली चलचित्रका लागि महत्त्वपूर्ण सहर हो। उनले धरानमा फिल्म हिट भए देशभर सफल हुने सम्भावना बलियो हुने धारणा व्यक्त गरे।

हाल ग्रिसको शीर्ष डिभिजन महिला फुटबल लिगमा निस एट्रोमिटौ बाट खेलिरहेकी एन्जिला प्रचार अभियान सकेपछि पुनः ग्रिस फर्किनेछिन्। चलचित्र ‘अञ्जिला’ मा उनको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष चित्रण गरिएको छ। फिल्मले तेस्रो हप्तामा प्रवेश गरिसकेको छ भने १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कमाइ गरिसकेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech