आजदेखि ‘११:५५’ र ‘द्रौपदी’ फिल्म प्रदर्शनमा

 

फिल्मी फण्डा। नेपाली फिल्म क्षेत्रमा आजदेखि दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन्— केशव पाण्डे निर्देशित ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) र ऋषिराज आचार्य निर्देशित ‘द्रौपदी’।

‘११:५५’ एक क्राइम थ्रिलर फिल्म हो, जसको बुधबार कमलपोखरीस्थित बिग मुभिज सिटी सेन्टरमा रेड कार्पेट प्रिमियर शो आयोजना गरिएको थियो। सिनेकर्मी र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको उक्त प्रिमियरमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ।

केशव पाण्डेको डेब्यु निर्देशन रहेको यो फिल्ममा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेब्यु अभिनेता सागर खनाल मुख्य भूमिकामा छन्। फिल्मको कथा निर्देशक पाण्डे, एमएस अग्रज र शेखर ज्ञवालीले लेखेका हुन्।

प्राविधिक रूपमा फिल्मलाई उत्कृष्ट बनाउन अलमोडा राना उप्रेती को संगीत, कविराज गहतराज को कोरियोग्राफी, देव महर्जन को द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तान को कलर, शैलेश श्रेष्ठ को साउन्ड डिजाइन, प्रद्युमन मिश्र को डिओपी, रामशरण उप्रेती को सिनेमाटोग्राफी, पासाङ दावा शेर्पा को सम्पादन जस्ता अनुभवी नामहरू जोडिएका छन्।
विचित्र फिल्मस् र गुड जब आट्र्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता श्याम शर्मा र सरोजा शर्मा हुन् भने कार्यकारी निर्माता एमएस अग्रज रहेका छन्। फिल्मलाई कुवेर सिने डिस्ट्रीब्युसन प्रा.लि. ले वितरण गरिरहेको छ।

त्यस्तै, ऋषिराज आचार्य निर्देशित ‘द्रौपदी’ एक सामाजिक कथावस्तुमा आधारित फिल्म हो, जसमा कर्णालीको दुर्गम क्षेत्रको कला, संस्कृति, भाषा, परम्परा र जनजीवनको कथालाई प्रस्तुत गरिएको छ।

यो फिल्ममा निर्देशक ऋषिराज आचार्य स्वयं, ‘नेपाल आइडल’ विजेता रवि ओड, अश्विनी शाही, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता पौडेल लगायत कलाकारहरूको अभिनय रहेको छ।

आरबी मुभिजको ब्यानरमा बनेको फिल्मका निर्माता निर्देशक आचार्य स्वयं र प्रकाश ज्ञवाली हुन्। सह-निर्माताको रूपमा विष्णु ठडराई रहेका छन्। फिल्मका गीतमा रवि ओड र इन्द्रकला राई को स्वर सुन्न सकिन्छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech