"द्रौपदी" मा कलाकार होइन, सामग्री नै नायक: निर्देशक ऋषिराज आचार्य

फिल्मी फण्डा। यो शुक्रबार प्रदर्शन हुन लागेको चलचित्र द्रौपदी का निर्देशक ऋषिराज आचार्यले चलचित्रमा कुनै विशेष कलाकारभन्दा पनि सामग्री नै नायक भएको बताएका छन्।

फिल्म प्रचारका लागि विभिन्न स्थानमा पुगेका निर्देशक आचार्य काठमाडौं फर्केपछि दर्शकको प्रतिक्रियाबाट उत्साहित देखिए। उनले बुटवल, दाङ, नेपालगञ्ज, पोखरा र चितवन जस्ता सहरहरू भ्रमण गर्दै दर्शकसँग प्रत्यक्ष संवाद गरेका थिए।

"दर्शकले हामीलाई भने, तपाईंको ट्रेलर हेरेर गहिरो प्रभाव परेको छ। कतिपयले त गाडी रिजर्भ गरेर हेर्न आउँछौँ पनि भने। यस्ता प्रतिक्रिया सुन्दा निकै खुसी लागेको छ। द्रौपदी चैत ८ गते प्रदर्शन हुँदैछ, र हामी सकेसम्म धेरै दर्शकसम्म पुग्न प्रयास गरिरहेका छौँ," उनले भने।

आचार्य यो चलचित्रका निर्देशक मात्र नभएर निर्माता, लेखक र प्रमुख अभिनेता पनि हुन्।

द्रौपदी मार्फत तीन नयाँ कलाकार—रवि ओड, अश्विनी शाही र सुजाता तिमल्सिना—नेपाली फिल्म उद्योगमा डेब्यु गर्दै छन्। रवि नेपाल आइडल सिजन २ का विजेता हुन् भने अश्विनी शाही मोडलिङ क्षेत्रबाट चर्चित छन्।

निर्देशक आचार्यका अनुसार मुख्य कलाकार नयाँ भए पनि उनीहरूले उत्कृष्ठ अभिनय गरेका छन्।

"उनीहरू नयाँ हुन सक्छन्, तर उत्कृष्ट काम गरेका छन्। ठूलो पर्दामा पहिलो पटक देखिए पनि, उनीहरू प्रशिक्षण प्राप्त, परिपक्व प्रतिभा हुन्, जसलाई मैले अवसर दिएको हुँ। मुख्य कुरा कलाकार को हुन् भन्ने होइन, सामग्री नै महत्वपूर्ण हो। द्रौपदी यस्तो फिल्म हो, जसमा सामग्री नै नायक हो," आचार्यले स्पष्ट पारे।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech