फिल्मी फण्डा ।फिल्म 'जुनाः एक व्यथा' को ट्रेलर सार्वजनिक भएको छ। यो फिल्म बाल विवाह र महिला हिंसाविरुद्धको सन्देश बोकेको छ र माघ २५ गते रिलिज हुने तयारीमा छ। सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो। जीवन सेञ्चुरीको निर्देशनमा बनेको यो फिल्म गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको हो।
ट्रेलरमा अस्मिता ढकालको बाल विवाहदेखि गर्भवती अवस्थासम्मको पीडालाई मार्मिक तरिकाले प्रस्तुत गरिएको छ। ट्रेलरमा बालिकालाई पति र सासुले दिएको दुःख, र गाउँका खलपात्रले लगाएको कुदृष्टिलाई देखाइएको छ। ट्रेलरले बाल विवाहपछि बालिकाको जीवनमा हुने पीडा र दुःखका दिनलाई उजागर गरेको छ।
फिल्मका निर्माता दीपकप्रसाद घिमिरेले फिल्ममा वास्तविकता भएकाले दर्शकलाई छुने बताए। निर्देशक जीवन सेञ्चुरीले फिल्मले नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहु विवाह, बलात्कार र छाउपडी प्रथाजस्ता कुप्रथालाई अन्त्य गर्न समाजमा चेतना फैलाउन प्रेरित गर्ने बताए।
फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरालगायतका कलाकारले अभिनय गरेका छन्। फिल्मको छायांकन पर्वतको सालिजा ओख्रेनीमा गरिएको हो।
फिल्मको कथा राजबहादुर सानेले लेखेका हुन् भने बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर रहेको छ। रामेश्वर हुमागाईंले डिओपीको जिम्मा लिएका छन्।
फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन्।