फिल्मी फण्डा । आगामी माघ ११ गतेबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक भएको छ। १ मिनेट ५६ सेकेण्डको यस ट्रेलरमा प्रमुख कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठको अभिनय मुख्य फोकसमा छ। ट्रेलरको आरम्भ नाजिरले सृष्टिलाई बन्धक बनाएर राखेको दृश्यबाट सुरु भएको छ, जहाँ नृत्यका माध्यमबाट पहिचान र सामाजिक सन्देश दिइएको छ।
नाजिर ट्रेलरमा तराईका नेपाली समुदायलाई अझै पनि भारतीयको रूपमा चित्रित गर्ने बारे गुनासो प्रस्तुत गर्छन्। यसमा मिथिला संस्कृतिको पनि महत्वपूर्ण स्थान राखिएको छ, जसले फिल्मको सांस्कृतिक पक्षलाई उजागर गरेको छ।
नाजिर फिल्ममा रामको भूमिकामा छन् भने सृष्टि सीताको भूमिकामा अभिनय गर्दैछिन्। दीपेन्द्र गौचनको लेखन र निर्देशनमा तयार भएको यस फिल्मको निर्माण ट्राई सिटी पिक्चर्सले गरेको हो।
फिल्ममा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर लगायतका कलाकारहरूको अभिनय छ। विशेष भूमिकामा अमितेष शाह पनि देखिनेछन्।
निर्माण पक्षमा नकिम उद्दिन कार्यकारी निर्माता हुन्, जबकि अन्य सह–निर्मातामा मनोहर दास मुल, अनिन राजभण्डारी र राजीव थापा जस्ता कलाकारहरूको सहभागिता छ।
अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व र संगीतमा दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको योगदान रहेको यस फिल्मको वितरण ओएसआर डिजिटल र अन्य कम्पनीहरूले गर्नेछन्।