फिल्मी फण्डा । चलचित्र ‘एक्टरस् टेक वन’ को ट्रेलर माघ १६ मा प्रदर्शन हुने अवसरमा शुक्रबार काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ।राजन भुसालद्वारा निर्देशित यस चलचित्रको ट्रेलरले त्रिकोणात्मक प्रेमकथा र महत्वाकांक्षी पात्रहरूबीचको द्वन्द्वलाई केन्द्रमा राखेको छ।
चलचित्रमा मुख्य भूमिका निभाउने प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइरालालाई ट्रेलरमा विशेष रूपमा प्रस्तुत गरिएको छ। ट्रेलरले प्रदीप खड्काको महत्वाकांक्षी चरित्रलाई देखाउँछ, जसले आफ्नो लक्ष्य प्राप्त गर्न विभिन्न अवरोधहरू पार गर्नुपर्छ।
राजबल्लभ कोइराला ग्रे क्यारेक्टरमा प्रस्तुत भएका छन्, जसले षड्यन्त्र र द्वन्द्व सिर्जना गर्न भूमिका निभाउने ट्रेलरमा देखिन्छ। चलचित्रको ट्रेलरमा निश्चल बस्नेतको इन्ट्रीलाई सस्पेन्सपूर्ण तरिकाले प्रस्तुत गरिएको छ।
यस चलचित्रमा प्रदीप खड्का, आना शर्मा र दिव्या रायमाझीसँगै राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ।
राजन भुसालको यो डेब्यू निर्देशन हो। यस चलचित्रबाट अभिनेता राजबल्लभ कोइराला १० वर्षपछि ठूलो पर्दामा फर्किंदै छन्। दिव्या रायमाझीले पनि यही चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी हुन्। दिव्या, चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी हुन्, र उनी अमेरिकाबाट नेपाल फर्केर यो चलचित्रमा अभिनय गर्न थालिसकेकी छन्।
‘एक्टरस् टेक वन’ अदृत फिल्म्स र मोती फिल्म्सको संयुक्त प्रस्तुति हो। यस चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन्। थमन कुमार भण्डारीले निर्माण गरेको यस चलचित्रमा अनीश भुसाल सह(निर्माता र मोती कार्की क्रियटिभ प्रोड्युसरको भूमिकामा छन्।
चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन्। संगीतमा हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले योगदान दिएका छन्। द्वन्द्व निर्देशन अष्ट महर्जनले गरेका छन् भने कला निर्देशन कृष्णमान तामाङले गरेका छन्।
चलचित्रको नृत्य कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन्। पोस्ट–प्रोडक्सन सुपरभाइजरको रूपमा साहिल खान रहेका छन्। चलचित्र ‘एक्टर’ माघ १६ गते देशव्यापी प्रदर्शनमा आउने छ। यस चलचित्रले नेपाली सिनेमामा नयाँ कथा र प्रस्तुति शैली ल्याउने अपेक्षा गरिएको छ।
प्रेमकथा, द्वन्द्व र सस्पेन्सको मिश्रण रहेको ट्रेलरले चलचित्रप्रति दर्शकको चासो बढाएको छ, जसले सिनेमा हेर्ने दर्शकलाई आकर्षित गर्ने विश्वास गरिएको छ। यो सिनेमाको वितरणको जिम्मा एप्पल इन्टरटेन्टमेन्ट र डिसिएनले लिएको छ।