‘अञ्जिला’ सिनेमाको पहिलो गीत डल्ले डल्ले खुर्सानी सार्वजनिक

फिल्मी फण्डा ।  मिलन चाम्सको निर्देशनमा बनेको सिनेमाको पहिलो गीत ‘डल्ले डल्ले खुर्सानी’ बुधबार सार्वजनिक गरिएको छ। सिनेमामा प्रमुख भूमिका निभाएका कलाकार दयाहाङ राई र मिरुना मगर यस गीतमा फिचर भएका छन्।

गीतको शब्द रचना र संगीत राजन राज सिवाकोटीको छ, र मेलिना राई र सिवाकोटीले यसमा स्वर दिएका छन्। कविराज गहतराजको कोरियोग्राफी र राम कुमार केसीको सिनेमाटोग्राफीले गीतलाई अझ बढी आकर्षक बनाएको छ। गीतको अडियो र भिडियो दुवै उत्कृष्ट रहेको छ, र यसले सिनेमाप्रति दर्शकको चासो अझ बढाएको छ।

‘अञ्जिला’ सिनेमाको कथा नेपाली महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित छ। यद्यपि, सिनेमामा एञ्जिलाको जीवनलाई काल्पनिक घटनासँग जोडेर सिनेमाटीक फ्लेभर दिइएको निर्देशक चाम्स बताउँछन्। एञ्जिला स्वयंले यो सिनेमामा मुख्य भूमिका निभाएकी छन्।

सिनेमामा एञ्जिलासँगै दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ, प्रेम कुमार श्रेष्ठ, सुनिल थापा, मञ्जु श्रेष्ठ, सुरज तमु, वेदना राई, सुमिन गुरुङ, विरुप घले, सिद्धार्थ सिंह र बलदीप राई लगायतका कलाकारहरूको महत्वपूर्ण अभिनय देख्न सकिन्छ।

सिनेमाको लेखन प्रदीप भारद्धाज, यम थापा र गिरीराज घिमिरेको छ। सिनेमाको डिओपी सुदीप बराल, ब्याग्राउण्ड म्युजिक एलिस कार्की, र संगीत राजन राज सिवाकोटी, हरि लम्साल र थानेश्वर गौतमको रहेको छ। भिएफएक्स समीर मियाँले र सम्पादन मिलन श्रेष्ठले गरेका छन्।

सिनेमाको निर्माता प्रेम कुमार श्रेष्ठ हुन्, र सह(निर्मातामा तुवेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया छन्। ‘अञ्जिला’ सिनेमालाई एप्पल इन्टरटेमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्नेछन्। यो सिनेमाको प्रदर्शन आगामी फागु २९ गतेबाट हुनेछ। ‘अञ्जिला’ को पहिलो गीतले सिनेमाको प्रमोशनमा महत्वपूर्ण भूमिका खेलेको छ र यसको सफलता आगामी प्रदर्शनको लागि राम्रो संकेत हो।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech